धर्म/संस्कृति

शेर्पा समुदायकाे नयाँ वर्षको ग्याल्पो ल्होसार हर्ष उल्लासका साथ मनाउँदै


erastriya शुक्रबार, फागुन १६, २०८१

फुङ्लिङ (ताप्लेजुङ), १६ फागुनः ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङका तेन्जिङ शेर्पा बुधबार घरबाट ल्होसार मनाउन काठमाडौँतर्फ प्रस्थान गर्नुभयो । उहाँको परिवार केही महिनाअघि मात्र पापुङबाट काठमाडौँ सरेकाले आफन्तहरूसँग नयाँ वर्ष मनाउन उहाँ राजधानी जानुभएको हो ।

 स्थानीय कञ्चन शेर्पा भने बिहीबार बिहानदेखि नै ल्होसारका लागि आवश्यक तयारीमा व्यस्त हुनुहुन्छ । उहाँले घर तथा पूजा कोठा सजाउँदै विभिन्न सामग्री जुटाउनुभएको छ । 

 मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा पनि आफ्नो परिवारसँग ल्होसार मनाउन बिहीबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आइपुग्नुभयो । उहाँले परिवार फुङ्लिङमै रहेकाले गाउँबाट सदरमुकाम आउनुभएको हो । यी त केही प्रतिनिधिमात्र हुन् । अहिले हिमाली शेर्पा समुदायहरुका आ–आफ्नो गाउँघर तथा आफ्नो परिवार भएको ठाउँमा ल्होसार मनाउन पुगेका छन् । 

 तेन्जिङ शेर्पाका अनुसार आज बिहान पूजापाठ गरेर आफ्नो परिवारसँग विभिन्न परिकार बनाएर खाने दिन हो । आजको दिन शेर्पा समुदायका परिवार आफ्नै घरमा बसेर दुःख सुखका कुरा गर्ने विभिन्न परिकार बनाएर खान्छन् । 

 यो पर्व शेर्पा समुदायको प्रमुख चाड हो । जसलाई नयाँ वर्षका रूपमा फागुन शुक्ल प्रतिपदाका दिन विशेष उल्लासका साथ मनाइन्छ । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुगोलाका वडा अध्यक्ष तथा स्थानीय छेतेन लामाका अनुसार यस वर्ष २१५२ औँ ग्याल्पो ल्होसार परेको छ । 

 यो पर्व १२ वर्ग (मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बराह) मा विभाजित गरिएको छ । “हामी हिमाली शेर्पाहरू तिब्बतेन पात्रोअनुसार पर्वहरू मनाउँछौँ । नेपाली र तिब्बतेन पात्रो मेल नखाने भएकाले कहिलेकाहीँ एक वर्षमा १३ महिना वा ११ महिना पर्न सक्छ,” शेर्पा बताउनुभयो । 

 नेपालमा शेर्पाहरूले एक साता ल्होसार मनाउने परम्परा छ भने तिब्बतमा यो पर्व दुई साता मनाइन्छ । शेर्पाहरुका अनुसार ग्याल्पो ल्होसारको सुरुआत भोटका नवौँ राजा उदे गुङ््यालको पालादेखि वसन्त पर्वका रूपमा भएको मानिन्छ । 

 पर्वको पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी गुम्बा जाने चलन छ । दोस्रो दिन आफन्तहरू भेटघाट गर्ने, पारिवारिक जमघट गर्ने र विशेष परिकार पकाएर भोज खाने गरिन्छ । तेस्रो दिन बुद्ध धर्म रक्षाका लागि विभिन्न धर्मपालहरूको (भैरव, महाकाल आदि) पूजा गरिन्छ ।

 डण्डु लामाका अनुसार ल्होसारका अवसरमा घर वरपर सफाइ गर्छन् । पुरानो वर्षका नकारात्मक ऊर्जालाई हटाएर नयाँ सङ्कल्पका साथ वर्षको सुरुआत गरिन्छ । साथै, चौबाटोमा फोहर फाल्ने चलन रहेको छ, जसलाई नकारात्मकताको परित्यागको सङ्केत मानिन्छ । यस अवसरमा विशेष परिकार ‘गुथुक’ तयार गरिन्छ, जसमा मकै, भटमास, केराउ, चना, मुला, चामलको आटा आदि मिसाइन्छ । गुथुक आफ्नो कूल देवतालाई चढाइएपछि मात्र परिवारका सदस्यहरूले ग्रहण गर्छन् ।

 साथै, परिवारका सदस्यको लागि पिठोका डल्ला बनाइन्छ, जसमा कागज, घीउ, नून, खुर्सानी, कोइला आदि राखिन्छ । ती वस्तुहरू व्यक्तिको स्वभाव दर्शाउन प्रयोग गरिन्छ । जस्तै कागज अध्ययनशीलताको, घिउ चाप्लुसीको, खुर्सानी रिसाहा स्वभावको र कोइला डाहको प्रतीक मानिन्छ ।

 लामाहरुका अनुसार ल्होसारको पहिलो बिहान परिवारका सदस्यहरू धारामा गई स्नान गरी पूजा गर्छन् । त्यसपछि जल कूल देवतालाई चढाइन्छ । यस अवसरमा ‘छ्याङगुल’ नामक विशेष परिकार तयार गरिन्छ । जसमा जाँडमा छसर्पी, बदाम, नरिवल, किसमिस आदि मिसाइन्छ । ल्होसारको विशेष दिन शुभसाइत हेरी पहाड वा अग्लो स्थानमा गई लुङ्दार (ध्वजा) टाँग्ने गरिन्छ । लुङ्दारमा विभिन्न मन्त्र लेखिएका हुन्छन् । जसले शान्ति, समृद्धि, र दीर्घायुको कामना दर्शाउँछ । यो कार्य लामाबाट अभिषेक गरी सम्पन्न गरिन्छ ।

 नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । जसले यो पर्वलाई राष्ट्रिय पहिचान दिलाएको छ । सांस्कृतिक विविधताका कारण शेर्पा समुदाय मात्र नभइ अन्य समुदायका मानिसहरू पनि ल्होसार पर्वको रमझममा सहभागी हुन थालेका छन् । परम्परा र आधुनिकता दुवैलाई समेट्दै ग्याल्पो ल्होसार झन् व्यापक रूपमा मनाउने क्रम बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै
सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

चैत ०४, २०८१

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

फागुन २५, २०८१

डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज

फागुन १५, २०८१

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने

फागुन १३, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस