ब्यापार

जग्गा बेच्न दले ले जग्गा किन्ने व्यक्ति कै जग्गा देखाए


erastriya शुक्रबार, साउन १२, २०८०

एक महिना अघिको कुरा हो, बुटवलस्थित सुख्खानगरका निर्मल नेपाल घरमा बसिरहेका बेला उनका साथी उमेश केसीले फोन गरे।

‘तिलोत्तमाको हरपुरमा मेरो साथीको पनि साथीको १७ कट्ठा जग्गा छ बेच्न खोजेका छन् ग्राहक खोजिदिन पर्‍यो,’ उमेशले भने।‘जग्गा हेर्न पाए कसैले किन्न खोज्यो भने देखाउन पाइन्थ्यो,’ निर्मलले भने।

केही समयपछि भेट्ने कुरा भयो।

निर्मलले जग्गा कारोबार गर्ने साथीलाई लिएर जग्गाको ठेगानामा पुग्ने र उमेशले पनि साथी लिएर आउने सल्लाह भयो। जग्गा थियो, तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम हरपुरमा। उमेश हरपुरमा पुग्दा निर्मल पनि त्यहीँ पुगिसकेका थिए।

उमेशसँगै कारमा आएका व्यक्तिले बिक्री गर्न खोजिएको जग्गा देखाएपछि निर्मल छाँगाबाट खसेजस्तै भए। ती व्यक्तिले बिक्री गर्ने भन्दै ग्राहक खोज्दै हिँडेको जग्गामध्ये केही त निर्मलको आफ्नै पनि थियो।

आफ्नोसहित गाउँका १२ जनाको लालपुर्जा भएको जग्गा अर्कैको भन्दै बिक्री गर्न खोजिएकोमा उनी छक्कै परे।

‘यो जग्गा त मलगायत गाउँका अरू १२ जनाको नाममा लालपुर्जा भएको जग्गा हो,’ निर्मलले भने।

निर्मलको कुरा ती व्यक्तिले पत्याएनन्।

उनले सो जग्गा आफ्नै साथीको कम्पनीको नाममा दर्ता भएको र त्यहाँ जोतभोग गर्दै आएकाहरू सुकुम्बासी भएकाले उनीहरूलाई कुनै उपाय लगाएर हटाउन लागिएको बताए।

ती व्यक्तिले मोबाइलबाट कित्ता नम्बर १५७ लेखिएको लालपुर्जा समेत देखाए। उक्त लालपुर्जा ललितपुर ठेगाना भएको ग्रिनल्याण्ड विल्डर्सको नाममा बनाइएको थियो।

तिलोत्तमा नगरपालिका ६ मा पर्ने कित्ता नम्बर १५७ को त्यो जग्गा २०२२ सालमा निर्मलका बुवाले किनेको गाउँ ब्लकको जग्गा हो।

किने यता निरन्तर नेपाल परिवारले खनजोत गर्दैआएको छ। स्थानीय समाजसेवी अर्जुन उपाध्यायका अनुसार हरपुर आनन्द वनको सबैभन्दा पुरानो गाउँ ब्लकको बस्ती हो।

मणिग्राममा बस्ती बस्नुअघि त्यहाँ पहाडका विभिन्न जिल्लाबाट आएर थारू समुदायका जमिन्दारसँग जग्गा खरिद गरेर बस्नेहरूले बस्ती बसाइसकेका थिए।

१५७ नम्बरको उक्त कित्तालाई २०७१ सालमा फोडिएको थियो। त्यसपछि जग्गाको जोतभोग गर्दै आएका परिवारका नाममा कायम गरेर १, २,३, ४ गर्दै क्रमश: १५सम्म कायम गरिएको थियो।

सोहीअनुसार नाप नक्सा गरी लालपुर्जा समेत दिएको मालपोत कार्यालयको अभिलेखबाट देखिन्छ।

तिलोत्तमा नगरपालिका-६ का वडा अध्यक्ष गणेश पाठकका अनुसार मालपोत कार्यालय बुटवलको अभिलेखमा १५७ नम्बरको कित्तालाई फोड गरेर १४ वटा कित्ता बनाई २०७१ सालमा राम थापाको कश्यप नमूना रोडा उद्योग, दिनकुमारी न्यौपाने, माया नेपाल, मीना नेपाल, उत्तम प्रधान, गोविन्दप्रसाद खराल, भीमबहादुर राना, कृष्णबहादुर अर्याल क्षेत्री, अम्मरकुमारी रायमाझी, कृष्णप्रसाद ज्ञवाली, फूलमाया धरेल, टेकराज अर्याल र लक्ष्मीदेवी अर्यालको नाममा कायम गरिएको छ।

तिलोत्तमा नगरपालिका-६ मा रहेको तिनाउ नदीको पूर्वी किनारामा रहेको हरपुर २०२१ सालदेखि नै बस्ती बस्दै बनेको गाउँ हो। तराईमा बस्ती बाक्लो नभइसकेको अवस्थामा पनि डकैती तथा लुटपाटका घटनाबाट सुरक्षित रहन गाउँलेहरू एकै ठाउँमा घर बनाएर झुरूप्प बस्ती बसाल्ने गर्थे। हरपुर पनि झुरूप्प घरहरू भएको बस्ती थियो।

जग्गाधनी कृष्णबहादुर अर्याल क्षेत्रीले आफूहरूले २०२२ सालमा जग्गा किनेको र निरन्तर जोतभोग गर्दै आएको बताए।

‘मेरो बुवा आसामबाट नेपाल आएर २०२२ सालमा यो जग्गा किन्नुभएको हो, गाउँ ब्लकको जग्गा भएका कारण लालपुर्जा नबने पनि हरेक वर्ष तत्कालीन गाविसमा तिरो बुझाएर रसिद लिने गर्थ्यौं। २०७१ सालमा आयोग बनेपछि भने नापजाँच गरेर लालपुर्जा लिएका हौं,’ ७६ वर्षीय अर्यालले भने।

२०७१ सालदेखि भने आफैंले वडा कार्यालयमा तिरो बुझाउँदै आएको उनले बताए।

‘बुवा बितेपछि मालपोत कार्यालयबाटै मेरो नाममा नामसारी गरी जोतभोग गर्दै आएको छु, अहिले अर्कै व्यक्तिले कम्पनीको नाममा लालपुर्जा निकालेको छ भन्ने सुन्दा अचम्म लागेको छ,’ उनले भने।

शंकरनगरबाट बसाइसराई गरी हरपुर पुगेका गोविन्द खरालले पनि ३१ सालतिर त्यहाँको जग्गा किनेका थिए।

नौ वर्ष पहिले १५७ नम्बरको को एउटै कित्ता रहे पनि ०७१ सालमा १४ वटा कित्ता फोड गरी बीचमा बाटो कायम गरिएको छ।

बाटोको पूर्वतर्फ लस्करै रहेका खेतका गह्रामा खेती हुँदै आएको छ भने पश्चिमतर्फ राम थापाको कश्यप नमूना रोडा उद्योग सञ्चालनमा छ।

तर २०७८ साल फागुन ६ गतेको मितिमा यो पुरै जग्गाको लालपुर्जा ग्रिनल्याण्ड विल्डर्सको नाममा बनेको पाइएपछि जग्गाधनीहरू झस्किएका छन्। २०७१ साल अघिकै कित्ता नम्बर कायम गरी १७ कट्ठा जग्गाको सिंगो लालपुर्जा बनाइएको देखिन्छ।

कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता नं ३४००८/२०७६/०७७ रहेको ग्रिनल्याण्ड विल्डर्स तिलोत्तमा ७ भलवारीका काशी घिमिरेले दर्ता गरेको कम्पनी हो।

हाल भने उक्त कम्पनी घिमिरेले नवलपरासीको बर्दघाटका भीमलाल भण्डारीका नाममा बिक्री गरेको देखिएको छ।

हाल ग्रिनल्याण्ड विल्डर्सको स्वामित्व लिएका भीमलाल भण्डारीका अनुसार काशी घिमिरेले आफ्नो कम्पनीको नाममा १७ कठ्ठा १० धुर जग्गा रहेको र सोसमेत बेचबिखन गर्ने हो भन्दै प्रस्ताव ल्याएपछि उनले जग्गासमेत हुने गरी खरिद गरेका थिए।

‘मैले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनीका नाममा दर्ता भएको जग्गासमेत खरिद गरेकोले काशी घिमिरेलाई ५ करोडभन्दा बढी पैसा बुझाएको छु, कम्पनी नामसारी गरेपछि जग्गाको स्वामित्व पनि कम्पनीकै नाममा आउँछ मालपोत कार्यालय जान पर्दैन भनेकोले सजिलो मानियो,’ भण्डारीले भने।

काशी घिमिरेलाई यसअघि नै दिएको पैसा उठाउने क्रममा आफूलाई फसाइएको भण्डारीले बताए।

‘मैले काशीसँग पटक-पटक गरी ५ करोडभन्दा बढी पैसा लिनुपर्ने छ, अर्कैको नाममा रहेको जग्गालाई आफ्नो भन्दै बिक्री गरेर घिमिरे अहिले सम्पर्कविहीन भएका छन्,’ उनले भने।

घिमिरे रूपन्देहीका अधिकांश जग्गाको नक्कली लालपुर्जा बनाउने र बेचबिखन गर्ने काममा सक्रिय रहेको भन्दै अनुसन्धानअघि बढाउन मालपोत कार्यालय बुटवलले प्रहरी र अख्तियार दुरूपयोग आयोगसम्मलाई पत्राचार गरेको छ।

१५७ नम्बर कित्ताको लालपुर्जा राखेर सहकारीबाट झण्डै तीन करोड ऋण

१४ परिवार गाउँलेको १७ कट्ठा १० धुर जग्गाको नक्कली लालपुर्जा ग्रिनल्याण्ड विल्डर्सको नाममा बनाएका काशी घिमिरेले सोही जग्गा धितो राखेर काठमाडौंको काँडाघारीमा रहेको सहकाली सहकारीबाट झन्डै तीन करोड ऋणसमेत लिएको पाइएको छ।

सहकाली सहकारीका कर्जा सहायक विकास थापाले ग्रिनल्याण्ड विल्डर्सले तिलोत्तमाको सोही जग्गा धितो राखेर २०७८ साल फागुन २२ गते सहकारीबाट २ करोड ७० लाख ऋण लिएको जानकारी दिए।

‘ग्रिनल्याण्ड विल्डर्सको नाममा रहेको तिलोत्तमाको १७ कट्ठा १० धुर र रमाकुमारी खड्काको नाममा पश्चिम नवलपरासीको दाउन्ने देवीमा रहेको तीन बिघा बढी जग्गा रोक्का राखेर सहकारीबाट २ करोड ७० लाख ऋण लगिएको छ,’ थापाले भने।

ऋण लगानी गर्दा सहकारीका सञ्चालकहरू तिलोत्तमाको फिल्डमै पुगेर जग्गासमेत हेरेर आएको उनले दाबी गरे। थापाका अनुसार घिमिरेले सहकारीबाट ऋण लिँदा वडा कार्यालयबाट चार किल्ला प्रमाणितको कागज र मालपोत कार्यालय बुटवलबाट जग्गा रोक्काको पत्रसमेत बनाएर पेश गरेका छन्।

वडा कार्यालयबाट गरिएको चार किल्ला प्रमाणितको कागजातमा यसअघिका वडा अध्यक्ष शुकदेव न्यौपानेको हस्ताक्षर राखिएको छ।

त्यस्तै मालपोत कार्यालयले जग्गा रोक्का गरी दिएको पत्रमा भने मालपोत अधिकृतको नाम उल्लेख नगरी हस्ताक्षर मात्र गरिएको सहकारीका कर्जा सहायक थापाले जानकारी दिए।

तर मालपोत कार्यालय बुटवलमा न त उक्त जग्गा रोक्का राखिएको कुनै अभिलेख छ, न त तिलोत्तमा ६ मा चार किल्ला प्रमाणित गरिदिएको अभिलेख नै राखिएको छ।

तिलोत्तमा नगरपालिका-६ का पूर्व वडाअध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा उक्त जग्गाको कुनै पनि सिफारिस वा चार किल्ला नबनाएको बताए।

‘वडा कार्यालयबाट दिइने सिफारिस वा चार किल्ला प्रमाणितको कागजातको अभिलेख रहने गरी कार्यालयमा एकप्रति राख्ने गरिएको थियो तर, उक्त जग्गाको कुनै पनि सिफारिस वा चार किल्लामा मैले हस्ताक्षर गरेको छैन,’ न्यौपानेले भने।

वर्तमान वडा अध्यक्ष गणेश पाठकले पनि वडा कार्यालयमा उक्त जग्गाको चार किल्ला बनाएको कुनै अभिलेख नरहेको जानकारी दिए। वडा कार्यालयले दिने चार किल्ला वा कुनै पनि सिफारिसको अभिलेख कार्यालयमा रहने भएकाले घिमिरेले फर्जी रूपमा चार किल्ला बनाएर सहकारीमा पेश गरेको हुनसक्ने पाठकले बताए।

तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले वडा कार्यालयमा उक्त जग्गाको चार किल्ला बनाएको कुनै अभिलेख नरहेको बताए।

वडा कार्यालयले दिने चार किल्ला वा कुनै पनि सिफारिसको अभिलेख कार्यालयमा रहने भएकोले घिमिरेले फर्जी रूपमा चार किल्ला बनाएर सहकारीमा पेश गरेको हुनसक्ने पाठकले बताए।

‘वर्षौंदेखि स्थानीयले जोतभोग र उपभोग गर्दै आएको गाउँ ब्लकको जग्गाको लालपुर्जा बनाएर सहकारीबाट ऋणसमेत लिइसकेको थाहा पाएपछि हामीले खोजबिन सुरू गरेका छौं,’ पाठकले भने।

घिमिरेबाट ग्रिनल्याण्ड विल्डर्स खरिद गरेका भण्डारीले पनि कम्पनीको नाममा रहेको भनी आफूलाई बिक्री गरिएको जग्गा राखेर सहकारीबाट २ करोड ७० लाख रुपैयाँ ऋण लिएको कुरा दुई-चार दिन पहिले मात्र थाहा पाएको बताए।

‘घिमिरेसँग लिनुपर्ने पुरानो पैसा उठाउन खोज्दा थप पैसा पनि फस्यो,’ उनले भने।

घिमिरेले एक वर्षअघि सहकारीबाट निकालेको २ करोड ७० लाख रुपैयाँको ब्याज अहिलेसम्म कत्ति पनि भुक्तानी नगरेको कर्जा सहायक थापाले बताए।

मालपोत कार्यालयमा घिमिरेका विरूद्ध उजुरी पर्न थालेको सूचना पाएपछि उनी केही दिनयता सम्पर्कविहीन भएका छन्। यस विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मछिन्द्रनाथकाे जग्गा बिनोद चौधरीकाे कब्जामा
मछिन्द्रनाथकाे जग्गा बिनोद चौधरीकाे कब्जामा

चैत १७, २०८०

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई अध्यापनको अनुमति प्रदान गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई अध्यापनको अनुमति प्रदान गर्न सर्वोच्चको आदेश

चैत १२, २०८०

चौधरीको लुट धन्दा ललितपुरमा पनि ५ रोपनी गुठीको जग्गा चौधरीको कब्जामा
चौधरीको लुट धन्दा ललितपुरमा पनि ५ रोपनी गुठीको जग्गा चौधरीको कब्जामा

फागुन ३०, २०८०

गृह मन्त्रालय पाउनको लागि मरिहत्ते किन गर्दैछन रबि लामिछानेको
गृह मन्त्रालय पाउनको लागि मरिहत्ते किन गर्दैछन रबि लामिछानेको

फागुन २२, २०८०

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति