ब्यापार

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा


erastriya सोमबार, माघ १४, २०८१

चितवन, १४ माघः सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् ।

 निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुबिधा छैन । होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल शीतलहरमा खुला आकाशमुनि हात्ती राख्नुपर्दा बिरामी हुने चिन्ता बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पहिले हात्ती पाल्न रहर हुन्थ्यो, अहिले कहर भएको छ ।” उहाँले थप्नुभयो, “पालिएका हात्ती न आफ्नै हात्ती सारमा राख्न पाइएको छ, न बिक्री गर्न पाइन्छ, न कतै पठाउन सकिन्छ ।” पशुअधिकार भन्दै पर्यटकलाई घुमाउँदा समेत आरोप खेप्नुपरेको उहाँको गुनासो छ ।

 एउटा हात्तीलाई दुईजना माउते आबश्यक पर्दछ । यसका अतिरिक्त हात्तीलाई धान, पराल, भेली, चना, हरियो घाँस आदि जुटाएर पाल्नुपर्दा एक महिनामा रु एक लाखभन्दा बढी खर्च हुने उहाँले जानकारी दिनुभयो । यो मौसममा जङ्गली भाले हात्ती बस्ती पस्न थालेपछि स्थानीयले एकीकृत रुपमा हात्ती पाल्न दबाब दिँदै आएका छन् । जङ्गली हात्तीले होटल तथा व्यक्तिका घरमा मालिएका पोथी हात्ती खोज्दै बस्ती पस्ने गरेको स्थानीयको भनाइ छ । केही महिनाअघि देखि जङ्गली हात्ती ‘मकुना’ वस्ती छिर्दै आएको छ । पछिल्ला दिनमा निजी हात्ती सञ्चालकहरुमा आफूले पालेका हात्ती कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै निकुञ्ज आसपासका क्षेत्रमा हात्ती पाल्न थालिएका हुन् ।

 क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई एकीकृत रुपमा हात्ती पाल्नका लागि सरकारी तवरबाट सहयोग हुनुपर्ने बताउनुहुन्छ । यो समस्या अहिलेको मात्र नभएर विगतका वर्षहरुदेखि झेल्दै आएको उहाँको भनाइ छ । पूर्वअध्यक्ष भट्टराईका अनुसार हात्तीको दैनिक आहार खर्च अत्यधिक बढेको, निकुञ्ज आउने पर्यटकको सङ्ख्या घटेको, पशुअधिकारका नाममा हात्ती चढ्नु अपराध हो भन्ने भाष्य सिर्जना गरिएको र जङ्गली हात्तीको आतङ्कका कारण आवश्यक स्याहारसुसारसहित घर कम्पाउन्डमा पाल्न नपाउने भएकाले हात्तीपालकहरुले अहिले अप्ठ्यारो अवस्था झेलिरहनु परेका छ ।

 ‘जिप सफारी’ सहित हात्ती चढी दुर्लभ एकसिङ्गे गैँडा, बाघ, चराचुरुङ्गीलगायत अनेकौँ जीवजन्तु हेरी रमाउने पर्यटकका कारण चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बताउनुहुन्छ, क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरी बताउनुहुन्छ ।

 यसैगरी, स्थानीय पर्यटन तथा होटल व्यावसायी सिलवालका अनुसार हात्तीपालनमा संलग्न व्यवसायीलाई सहयोगसहित कुनै पनि किसिमको सहुलियत नदिने हो भने यो व्यवसायबाट सबै विस्थापित हुने र त्यसको नकारात्मक प्रभाव निकुञ्ज केन्द्रित होटल व्यवसाय, रोजगारी र राजस्वमा असर पर्ने भएकाले समयमै सम्बन्धित पक्षका ध्यान जान आवश्यक छ ।    

 स्वदेश तथा विदेशमा समेत कहलिएको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । सुरुका केही वर्ष निकुञ्जका हात्तीले पर्यटक घुमाउने गरेकामा पछिल्ला वर्षहरुमा क्रमशः निजी क्षेत्रबाट पालिएका हात्तीलाई पनि भित्र्याइएको छ । कोभिडको महामारी अघिसम्म एउटा हात्तीको मूल्य भारतीय रु ८० लाखसम्म पर्ने गरेको व्यावसायीहरु बताउँछन् ।

 युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले यसरी हात्तीको दैनिक खर्च अत्यधिक हुने गरेको, विशेषगरी विदेशी पर्यटक हात्ती चढ्न छाडेको र यसअघिजस्तो आफ्नो घर कम्पाउन्डमा पाल्न नपाउने अवस्था सिर्जना भएकाले हात्ती पालक व्यवसायी मारमा परेका बताउनुहुन्छ । पर्यटकीयस्थल सौराहा आउने पर्यटकको सङ्ख्या कम हुन थालेपछि क्रमशः घट्दै एक सयबाट अहिले यहाँ ४५ वटा मात्र निजी हात्ती रहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । अध्यक्ष खतिवडाले भन्नुभयो, “निजी जग्गामा राख्दा वरिपरि घर हुन्छ । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।” सधँैका लागि एकीकृत ढङ्गबाट हात्ती राख्ने ठाउँको व्यवस्था भए आबश्यक संरचना व्यवसायी आफैँले बनाउने उहाँले बताउनुभयो । हात्ती व्यक्तिको भए पनि कानुनका हिसाबले हात्ती सरकारी सरह नै हुने गर्दछ । हात्तीको किनबेच, ओसारपसार, मरेपछिको व्यवस्थापन लगायतका काममा सरकारको प्रत्यक्ष निगरानी हुने व्यवस्था छ ।  

 क्षेत्रीय होटल सङ्घका अध्यक्ष गिरी निजी हात्ती आफ्नो जमिनमा नराख भन्न नसकिने उल्लेख गर्दै एकीकृतस्थल व्यवस्थापनका पक्षमा पहल भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाघमारा र चित्रसेन वनक्षेत्रभित्र हात्ती राख्नका लागि ठाउँ छुट्याई दिनसक्यो भने अहिलेको समस्या समाधान हुन्छ ।” सफारी पर्यटनमा हात्तीको भूमिका महत्वपूर्ण छ । यहाँ आउने पर्यटकले हात्ती चढेर तीनै दुई वनभित्र घुम्ने गर्दछन् ।

 चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त निजी हात्ती व्यवस्थापनको बिषयमा छलफल भइरहेको बताउनुहुन्छ । एकीकृत रुपमा हात्ती राख्न सकेमा अहिले देखिएको समस्या केही हदसम्म कमी आउने उहाँको भनाइ छ । डा पन्तले सरकारी जमिनमा निजी हात्ती राख्नका लागि नीतिगत रुपमा कानुनी व्यवस्था हुनुपर्ने भएकाले सम्बद्ध क्षेत्रका व्यवसायीको मागबमोजिम समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

माघ ०२, २०८१

हराउँदै गयो गुन्द्री बुन्ने चलन
हराउँदै गयो गुन्द्री बुन्ने चलन

पुस २३, २०८१

ताजा अपडेट

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…

  • दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मानिएको रेडपाण्डा

    दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मान…

  • गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

    गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्…

  • साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

  • सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

    सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

  • करिब बीस करोड रकमसहित एक जना पक्राउ

    करिब बीस करोड रकमसहित एक जना पक्राउ

  • पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

    पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त …

  • ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

    ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने