धर्म/संस्कृति

लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गरिँदै


erastriya सोमबार, मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिरः काठमाडौँ महानगरपालिकाको बीचभागमा रहेको लिच्छविकालीन हाँडीगाउँ क्षेत्रलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गर्न लागिएको छ । काठमाडौँ महानगरपालिका–५ मा पर्ने यो बस्ती लिच्छविकालीन सहर भए पनि आधुनिक विकासका कारण यहाँका मूर्त, अमूर्त सम्पदाको अस्तित्व सङ्कटमा पर्दै जान थालेका थिए । प्राचीनकालदेखि नै महत्वपूर्ण सम्पदा रहेकामा आधुनिक विकासका छायामा पर्न थालेका यी संरचना महानगरपालिकाको सक्रियतामा फेरि जीवन्त बनाउन लागिएको हो । 

  हाल मुख्य सम्पदा क्षेत्रमा प्रत्येक हप्ताको शनिबार एक दिन सवारीसाधन निषेध गर्ने गरिएको छ । महानगरपालिका—५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले सम्पदा क्षेत्रमा पैदलयात्रा गर्न सहज होस् भनी महानगरपालिकाकै सक्रियतामा यस्तो व्यवस्था गरिएको बताउनुभयो । यहाँ मुख्य सम्पदा क्षेत्रका रूपमा रहेका थटुटोल मार्ग, डटुटोल, कोटालटोल, गहनापोखरी र ङयाल्माटोल क्षेत्रमा शनिबार सवारीसाधन निषेध गर्ने गरिएको उहाँले सुनाउनुभयो । 

महानगर परिषद्ले हाँडीगाउँको मुख्य क्षेत्रमा बढीमा ५० फिटभन्दा अग्ला घर बनाउन नपाउने निर्णय पनि गरेको छ । यस क्षेत्रका घरको अगाडिको भाग मौलिक संस्कृति झल्कने गरी बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ । 

यसरी मौलिक घर बनाउँदा नक्शा पासको ९० प्रतिशत शुल्क छुट गरिएको छ । मौलिक रूपमा निर्माण हुने घरलाई नक्शा पासमा छुटका साथै चार वर्ग छुट्याएर रु आठ लाखदेखि रु ३२ लाखसम्म अनुदान दिने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । मुख्य सम्पदा क्षेत्रमा पर्ने ६४ घरलाई मौलिक स्वरूपमा निर्माण गर्न लागिएको छ । यहाँका पाँच वटा ढुङ्गेधारालाई व्यवस्थित बनाइँदै छ । प्राचीनकालमा यहाँ स्थापना भएर आधुनिकतासँगै पुरिएका तीन वटा इनार उत्खनन् गरिएका छन् । लुकमाचोकको इनार, तुँछेँ र हात्तीमहाँकाल मार्गका गरी तीन इनार उत्खनन् गरिएका हुन् । 

हाँडीगाउँ क्षेत्रका पुराना फल्चाको स्वरूपलाई आकर्षक बनाइँदै छ । प्रत्येक हप्ता शनिबार सवारी निषेध, सांस्कृतिक कार्यक्रम, परम्परागत नेवारी खाना प्रदर्शन गरी जीवन्त हाँडीगाउँका रूपमा सांस्कृतिक सहरको परिचय दिने गरी व्यवस्था गरिएको महानगर-५ को कार्यालयले जनाएको छ । 

यहाँको भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय निर्माणका लागि बोलपत्रको तयारी गरिएको जनाइएको छ । रु दुई करोड ८० लाखको लागतमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो । दुई महिनाभित्रमा हाँडीगाउँ क्षेत्रका सबै सडक कालोपत्र सकिने गरी काम अघि बढाइएको पनि वडाध्यक्ष प्रजापतिले जानकारी दिनुभयो । धनगणेश मन्दिर क्षेत्रको पुनःनिर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

मंसिर १८, २०८१

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ

मंसिर १७, २०८१

किन पर्दैछ बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
किन पर्दैछ बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

मंसिर १०, २०८१

लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण
लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

मंसिर ०७, २०८१

ताजा अपडेट

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

  • दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

  • क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

    क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’