समाचार

खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे


erastriya शनिबार, मंसिर ०१, २०८१

वीरगञ्ज (पर्सा), १ मङ्सिर : खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । खुला सीमानाकाको कारणले भारतबाट सहजै ढङ्गले लागुऔषध भित्रिँदा पनि यसको मारका यहाँका युवा परेका हुन् ।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले खुला सीमानाकाबाट अवैध रूपमा लागुऔषध भित्रिँदा युवाहरू कुलतमा फसेको बताउनुभयो । “खुला सीमानाकाको कारणले स्कुले उमेरदेखि नै यहाँका युवा कुलतमा फस्ने गरेका छन्,” उहाँले भन्नुभयो, “अहिले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्ने बेला भइसकेको छ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले पनि युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको बताउनुभयो । “खुला सीमानाकाको कारणले पनि यहाँका युवापुस्ता लागुऔषधको कुलतमा फस्ने गरेका छन्,” उहाँले भन्नुभयो, “पर्सा प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यार्थी तथा युवामा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।”

प्रहरी नायब उपरीक्षक भट्टले पर्साका परेका मुद्दामध्ये अधिकांश लागुऔषधसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । “१५ देखि ४५ वर्ष उमेर समूहका युवाहरू लागुऔषधको कुलतमा पर्ने गरेको देखिएको छ,” उहाँले भन्नुभयो, “मुलुकका लागि आवश्यक पर्ने युवाशक्ति नै कुलतमा पर्दा मुलुकलाई र परिवारलाई पनि ठूलो क्षति भइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आव २०७८/७९ मा लागुऔषधसम्बन्धी दुई सय २७ मुद्दा परेको थियो । जसमा दुई सय ८२ पुरुष र नौ महिला पक्राउ गरेका थिए । त्यस्तै, आव २०७९/८० मा लागुऔषध सम्बन्धित तीन सय दुईवटा मुद्दा परेको थियो । जसमा तीन सय ८९ पुरुष र १३ महिला पक्राउ परेका थिए । त्यस्तै, आव २०८०/८१ मा दुई सय चारवटा मुद्दा परेको थियो । जसमा पुरुष दुई सय ४२ र महिला १० जना पक्राउ परेका थिए ।

पर्सामा विशेषगरी गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्फिन, नाट्राभेट ट्याब्लेट, कोरेक्सलगायत प्रयोग गर्ने गर्छन् । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले पर्सा प्रहरीले लागुऔषधको दुव्र्यसनीको विरुद्धमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । “पर्सा प्रहरीले नागरिक समाजसँग हातेमालो गरेर लागुऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो, “खुला सीमानाकाको कारणले पनि लागुऔषधको दुव्र्यसनीलाई नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

१७ घण्टा अघि

शौचालयमा लडेर युवकको मृत्यु
शौचालयमा लडेर युवकको मृत्यु

१७ घण्टा अघि

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

१७ घण्टा अघि

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

१७ घण्टा अघि

ताजा अपडेट

  • नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

  • रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

    रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

  • नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

    नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

  • रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

    रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

  • ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

    ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

  • कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

    कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

  • शौचालयमा लडेर युवकको मृत्यु

    शौचालयमा लडेर युवकको मृत्यु

  • महाभारतमा बृहत् स्वास्थ्य शिविर

    महाभारतमा बृहत् स्वास्थ्य शिविर