काठमाडौं ।नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढङ्गले लागेको पुष्टि भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकले पेस गरेका कागजातहरू नक्कली भएको तथा कपोकल्पित ढङ्गले पेस गरेको भन्दै मुद्दा नचल्ने निर्णय गरेपछि बस्नेतलाई फसाउन लागेको पुष्टि भएको हो।
पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रूणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्दा दर्ता गरेकी थिइन् । प्रहरी परिसर टेकु, काठमाडौंले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्दा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो।
सरकारी वकिल कार्यालय काठमाडौँकाले २०८१ वैशाख ४ गते मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेका थिए। सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलीमा राख्ने निर्णय गरेको हो।
पाठकले जाहेरीमा आफू र महेश बस्नेत विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनी उल्लेख गरेको बारेमा २०८० वैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रूपमा वैवाहिक सम्बन्ध कायम गरेको भनी खुलाएको हुँदा उक्त स्व इच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने यकिन गर्न सक्ने अवस्था छैन।
मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनी निजले दाबी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनी खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेस गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुट्टा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ।
साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याब टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनी गरिएको दाबी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्पतालले प्रहरीलाई पठाएको छ।
साथै महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको भन्ने विषयमा बुझ्दा भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२/७३ को अस्पतालको मूल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गरेको देखिएको ब्यहोरा प्रमाणित गरी अस्पतालको मूल दर्ता रजिस्टर समेत पठाएको छ । यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहीन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्दा नचलाउने निष्कर्षमा पुगेको हो।
प्रहरी वृत्त नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरू आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरू संलग्न राखी पठाइएको छ।
साथै सोही दिन नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटब्युरो सदस्य महेश बस्नेत उपस्थित रहेको ब्यहोराको पत्रको हाजिरीको प्रतिलिपि एमाले केन्द्रीय कार्यालयले पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनी झुटा दाबी गरेको प्रहरी अनुसन्धानको निष्कर्ष रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ।
त्यसै गरी पाठकले मङ्सिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरूमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनी दाबी गरेको सन्दर्भमा अनमोल बस्नेत मङ्सिर ७ गते युवा सङ्घको कार्यक्रममा सहभागी भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ।
सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन् २३ नोभेम्बर २०२३ (मिति २०८०/०८/०७ गते १५:५०) काठमाडौंदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन् २५ नोभेम्बर २०२३ (मिति २०८०/०८/०९ गते) पोखरादेखी काठमाडौंको गन्तव्यको लागि उडान गरेको देखिन आएको प्रमाणित गरेको छ।
साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११:३० को फ्लाईटबाट काठमाडौंबाट जनकपुर गएका देखिएको छ। सो मितिमा २०८० चेत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ती एप्सबाट यति एयरलाईन्सको टिकट नं. ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ (मिति २०८०/०८/०९) गतेका दिने ११:३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौंबाट जनकपुर यात्रा गरेको देखिन्छ। जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनी जाहेरी दरखास्तमा दाबी गरेको ब्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलीमा राख्ने निर्णय भनिएको छ।
युट्युवर मनोज मानवले सार्वजनिक गरेको शोभा पाठक र महेश बस्नेतको टिकटकमा शोभाले नै साईवर ब्युरोमा दिएको उजुरीमा आफ्नो भिडियोमा आएको दृश्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन् । मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन। सोही उजुरीको आधारमा साइवर ब्युरोले मनोजलाई कारबाही समेत गरेको थियो। उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणित भएको थियो।
पाठकले तीन जनासँग औपचारिक रूपमा विवाह गरेकी हुन्। तीन जनासँग विवाह गरे पनि उनका पहिलो पतिको मृत्यु भएकाे हो भने दोस्रोसँग सम्बन्ध विच्छेद समेत गरेकी छैनन् । सम्बन्ध विच्छेद समेत नगरेकी पाठकले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफू कुमारी भएको पत्र समेत लिएकी छिन् भने २०४३ सालको जन्ममिती भएको सरकारी ढड्डा भएता पनि उनको नागरिकतामा भने २०४९ सालको रहेको छ। जसबाट नागरिकतासमेत किर्ते गरेको देखिएको छ।
बस्नेतलाई फसाउने रणनीति लिएकी पाठकले २०८० फागुन ८ गते बिहान आफ्नै कोठामा दुई पुरुष लगेर राखेर बसेको स्रोतले जानकारी दिएको छ। सोही दिन आफू नाइट ड्रेसमा रहेको समयमा दुई जना युवा आएर आफ्नो मोवाइल खोसेर लगेको भनी पाठकले झुटा प्रचारबाजी गरेकी थिइन ।
प्रतिकिर्या