वि.सं. २०४४ साल फागुन २९ गते करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशाला फुटबल प्रेमीले खचाखच भरिएको थियो। जहाँ जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधिका लागि आमने सामने हुँदै थिए ।
फाइनल खेल हेर्न बुटवल, जनकपुर, वीरगञ्ज लगायतका स्थानबाट समेत दर्शकहरू राष्ट्रिय रंगशाला ओइरिएका थिए । फुटबलप्रेमीको समुह टिकट बोकेर दक्षिणी गेटबाट रंगशाला प्रवेश गर्न रस्साकस्सी गर्दै थिए। गेटमा तैनाथ सुरक्षाकर्मी तथा फुटबल संघका पदाधिकारीसँग टिकट जँचाउँदै दर्शकलाई भित्र पठाउँदै थिए।
दिउँसो २ः३० बाट सुरू भएको खेलमा बंगलादेशी टोलीले सुरूवाती अग्रता लियो । खेलको १९ औं मिनेट चलिरहँदा हावाहुरी यति जोडले चल्न थाल्यो कि सैनिक मुख्यालय तर्फका ठुलठुला रूखका हाँगा रंगशालामा खस्न थाले । दर्शकदीर्घामा हावाहुरीबाट ज्यान जोगाउन भागदाैड सुरू भयो । रंगशाला प्रवेशका ढोकाहरू ताल्चा लगाइएको कारण समयमै दर्शकहरू बाहिरिन पाएनन् र किच्चिएर/च्याप्पिएर कम्तीमा ९३ जना फुटबल फ्यानले ज्यान गुमाउन पर्यो भने कैयन् समर्थकहरू घाइते भए ।
करिब ५ मिनेटपछि हावाहुरीको बबण्डर रोकिएपछि प्रहरी सुरक्षा घेराबीच बंगाली खेलाडीलाई होटलतर्फ लगियो। जनकपुर चुरोट कारखानाका खेलाडी भोटेबहालस्थित होटल पुगे। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि हुने घोषणा गरेको थियो । तर, त्यो दुर्घटनापछि खेल हुन सकेन। तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्कियो ।
तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्रसामु राजीनामा बुझाए। उक्त भयानक घटनापछि दशरथ रंगशालामा फुटबल खेल हुँदा दोश्रो हाफबाट नै प्रवेशद्धारहरू खुल्ला राख्न थालियो ताकी कथम् ०४४ सालको अवस्था आइपरेमा दर्शकहरू सहज रूपमा नै बाहिरिन सकुन् ।
दशरथ रंगशालामा घटेको उक्त दैवी प्रकोपलाई विश्व खेल इतिहासको ठूलो दुर्भाग्यपूर्ण क्षण मानिन्छ। रंगशालामा भएको दुर्घटनामा भएको मानवीय क्षतिका हिसाबले दशरथ रंगशालाको घटना समग्रमा चाैंथो ठुलो घटनाका रूपमा लिइन्छ ।
प्रतिकिर्या