८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।
चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । चौधरीले भने इन्कारी बयान दिएका छन् । उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।
बाँसबारी जग्गा प्रकरणमा १८ माघमा सीआईबीले विनोदका भाइ, सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो । उनीहरू अदालतको आदेशपछि २४ माघमा रिहा भएका थिए ।
प्रतिकिर्या