नेकपा एमालेका नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टीमा हाल पत्र लेखेर बिदामा बसेका थापाले नेकपामा प्रवेश गर्न छलफल सुरु गरेका हुन् । एमाले स्थायी समिति सदस्य समेत रहेका थापा आफ्ना पुराना सहकर्मी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने योजनामा रहेको बताइएको छ ।
थापा केही समयअघि कम्युनिस्ट विचार बोक्ने कलाकर्मीहरूले आयोजना गरेको राष्ट्रका लागि सङ्गीत अभियानमा सहभागी देशभर घुमेका थिए । त्यो अवधिमा उनी एमालेका बैठकमा सहभागी नभई पूर्ण रूपमा निष्क्रिय भई बसेर सांस्कृतिक कार्यक्रममा मात्रै सहभागी भएका थिए । सांस्कृतिक कार्यक्रम सकिएपछि उनले पार्टीलाई पत्र लेखेर बिदामा बसेको जानकारी गराएका थिए ।
त्यसपछि थापालाई पार्टीले कुनै जिम्मेवारी नदिई स्थायी समितिमा मात्रै राखेको छ । ‘हाम्रो पार्टीमा प्रवेश गर्न जिएसले छलफल गरी रहनुभएको छ । उहाँ (मणि थापा) पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ’ विप्लव नेतृत्वको नेकपा एक नेताले भने, ‘कुन जिम्मेवारी दिने र कहिले प्रवेश गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।’ अधिकांश पुराना सहकर्मी नेकपामै भएकाले एमाले छोड्ने तयारी गरेको ती नेताले बताए ।
एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा उनलाई स्थायी समिति सदस्यको जिम्मेवारी दिइएको थियो । एमालेमा चित्त बुझ्दो अवसर नपाएपछि थापा पछिल्लो समय असन्तुष्ट थिए । पछिल्लो समय उनी विप्लव नेतृत्वको नेकपा रोज्ने अवस्थामा पुगेका हुन् ।
प्रतिकिर्या