नेपालीको मृत्यु पश्चात भारतीय भूमिमा दाहसंस्कार गरिन्छ, कसैले भन्दा वा सुन्दा पत्यार नलाग्न सक्छ । तर, धनुषाको एउटा यस्तो गाउँ छ, जहाँ मानिसको मृत्यु हुँदा भारतीय भूमिमै अन्त्येष्टि गरिन्छ ।
त्यो गाउँ हो, मुखियापट्टी मुसहरनीया गाउँपालिका २ को उतरवारी टोल । यो गाउँका कसैको मृत्यु भएको खण्डमा शवलाई भारतमा लगेर अन्त्येष्टि गर्ने गरिन्छ । अर्थात् भारतीय भूमिमा वर्षौदेखि नेपालीको मसानघाट छ ।
वैशाख ३० गते बिहान स्थानीय ६० वर्षीय मोतीरामको निधन भयो । उनको अन्त्येष्टि पनि यो मसानघाटमै गरियो । मसानघाट र उत्तरवारीटोलको दूरी करिब एक किलोमिटर छ ।
मसानघाट जमुनी नदीको किनारमा पर्छ । दशगजाबाट करिब सय मिटरभित्र रहेको नेपालीको मसानघाट भारत बिहार राज्यको मधुवनी जिल्लाको फुलहरघाट हो ।
वैशाखको दोस्रो साता उत्तरवारी टोलका सुवेदार यादवकी ६९ वर्षीया श्रीमती अनरिया देवीको मृत्यु पश्चात यही मसानघाटमै अन्त्येष्टि गरिएको थियो । मसानघाट भारतीय किसानको जमिन हो । तर धनीमानी भएको कारण उनीहरु खनजोत गर्दैनन् । त्यसैले भारतीय पक्षबाट कहिल्यै अवरोध नगरेको सुवेदार यादव बताउँछन् ।
‘यो फुलहरबलाहरुको जग्गा छ । उनीहरु धनीमानी छन् । खेतीपाती गर्दैनन् । कहिलेकाहीँ आउँछन् । तर अवरोध गर्दैनन् । हाम्रो गाउँको मसानघाट नै यही हो,’ यादव भन्छन्, ‘हामी गाइवस्तु चराउँछौं । यही मान्छे जलाउँछौं ।’
जवकि यही ठाउँमा केही महिना अघिसम्म नेपाली र भारतीय किसानबीच झण्डै चार दशकसम्म जग्गा विवाद चल्यो । बेलाबेला भिडन्तको स्थिति सिर्जना हुन्थ्यो ।
सुवेदार यादवका अनुसार सीमा भएर बग्ने जमुनी नदीले २०४२ सालमा धार परिवर्तण गर्यो । नदी धार परिवर्तन गर्दा नेपाली भूमिबाट बग्न थाल्यो । झण्डै पाँच विघा जग्गा नै पारी गरिदियो । भारतीय किसानले कब्जा गरी उब्जाउन थाले । र, भारतीय किसानको एक बिघा जग्गामा नेपाली किसानले उब्जाउन थाले ।
नदीले बगाएको सीमा स्तम्भ भने सात वर्षअघि दुवै देशले नापजाँच गरी पुनः गाडेका थिए । केही महिनाअघि सहमति सम्झौता गरी जग्गा विवाद समाधान भएको छ ।
नेपालीको जग्गा भारतीय किसानले फिर्ता गरेका छन् । अब नेपालीले खनजोत गर्न सुरु गरेका छन् ।
प्रतिकिर्या