
माओवादी आन्दोलनमा लामो समय देखि सक्रिय भूमिकामा रहेकी जनयुद्धकालीन मोर्चाबाट उदाएकी रामेछापकी सहिद परिवार लक्ष्मी देवी गुरुङले २५ वर्ष लामो माओवादी यात्राको पूर्णविराम लागेको घोषणा गरेकी छिन्।
पार्टी विघटनपछि वैचारिक असहमति र सङ्गठन भित्रको विचलनका कारण आफू अलगिएकाे उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै लेखिएको विस्तृत पत्र मार्फत बताएकी हुन्। उक्त प्रत्र यस प्रकारको छ।
"संयोजक कमरेड प्रचण्ड"
समय बहुत शक्तिशाली हुने रहेछ भन्ने कुरा जीवनको आजको यो अध्यायमा आएर बुझ्दै छु र समयको शक्ति वेगलाई स्विकार्दै विगत २५ वर्ष लामो माओवादी पार्टीको विचार सहितको यात्रा इतिहासको उपलब्धीको एक चिम्टी पनि सौन्दर्यता नराखी माओवादी पार्टी विघटन सँगै मेरो यात्रा पनि यही बिट मार्ने निर्णय लिदैं छु, वैचारिक विमति फरक मत सहित पार्टीबाट बाहिर बसेको लगभग ३ हप्ता भैइसक्यो तर साथीभाई शुभचिन्तक नेकपाको सांगठनिक काम र निर्णयको सर्कुलर पनि आइरहेको हुँदा मैले अझै स्पष्ट पार्न उचित लागेर यो पत्र सहित केही म अलग हुनाको कारण स्पष्ट राख्दै छु।
संयोजक कमरेड
सानै उमेर देखि नेपाली राजनीति स्थिति त्यो समयको चेतना स्तर अनुसार विद्यार्थी राजनीतिमा सक्रिय हुँदै समाजको मनोविज्ञान सामाजिक धरातललाई प्रभाव पार्ने अनेकौं उत्पीडन,अन्यान्य,अत्याचार,शोषण र दमन देख्दै प्रत्यक्ष भोग्दै त्यसका विरुद्ध आबाज उठाउँदै सबै खाले विभेदको अन्त्य गर्ने सामूहिक पहल प्रतिबद्धता र कुसल नेतृत्त्व को पर्खाइमा सामाजिक बन्धन छोरी बुहारी हुनुको कर्म र भूमिका रूपी जिम्मेवारी घर दैलो आँगनमा मात्र सीमित घरको धुरी खाबोमा बाँधिएको दाम्लो चुटालेर क प्रचण्डले नेतृत्व गरेको जनयुद्धको ऐतिहासिक यात्राको यात्री बन्न पाउने म एक भाग्यमानी ठान्दछु । आज पनि म त्यो अवसर र सौभाग्य प्रति उच्च सम्मान गर्दछु । मैले त्यो दिन देखि यता आज सम्म २५ वर्ष लामो समय यो पार्टीमा खर्चिए, मेरो परिवारबाट श्रीमानको सहादत सासु आमाको सुराकी बाट हत्या २ जना अभिभावक गुमाएर २ टुहुरा नानी बाबु को संरक्षण लालन पालन गर्दै पार्टीमा जिम्मेवारी निभाउदै आएकै थिए । तर यो यात्रामा मैले भोगेको कयौँ भोगाईहरु संयोजक कमरेड मैले चाहेर पनि तपाईंलाई अभिव्यक्त गर्न सक्दिन। म सँगै ती तीतो अतितहरु ओझेल पर्ने छन,त्यो कटु सत्यको म एक प्रमाण पनि हु। कम्युनिष्ट कार्यशैली कुन चरीको नाम हो। योद्धा सहयोद्धा एक अर्काको परी पूरक भन्दा पनि २५ वर्षको मेरो यो अनुभवमा १५ वर्ष यता अस्वस्थ्य अन्तर संघर्ष त्यसले पैदा गरेको अन्तर विरोध खण्डित मनहरु मध्य म आफू पनि एक हु। वर्ग प्रतिको निष्ठा वर्ग प्रतिको कठोर प्रतिबद्धता वैचारिक मूल्य मान्यता ह्रास भएको महशुस गर्न कुनै नौलो लागेन। मैले निन्तान भोगेका केही केही अनौठा दृष्टान्तहरू
१)पार्टिले टिकट दिन्छ पार्टी कै मेरा प्रिय केही कमरेडहरु नो भाेट अभियान चलाएर चुनाव हराइन्छ ।
२) सहिदको रगतको ब्याज खाएको भन्ने गैर राजनीतिक आरोप सुन्न र पचाउन कति हिम्मत खर्चे हौला? आज पनि विक्षिप्त हुनु बाहेक नाजवाफ छु।
३)मेरो प्रिय सहयोद्धा कमरेडको मुखबाट एकल महिला भन्न अलि सम्मान हुन्छ भनेर होला(राडी आईमाई )पुरानो सामाजिक चेतनाको जगभत्काउने नयाँ वैचारिक चेतनाको निम्ति बोकेको त्यो वैचारिक हतियार म जस्ता आफ्ना गुमाएर एक्लो भएको व्यक्ति प्रति लक्षित हुँदा मैले के बुझे होला।
४)सांगठनिक अराजकताको बिरुद्दमा इमान्दारिता निरन्तरता निष्पक्षता, प्रतिबद्धता कार्यकता नेता बीचको भावनात्मक एकता समर्पणको आवाज बोल्दा अल्पमतको दण्डा खेपेको छु,
५)म हेरेर मेरो पार्टीलाई हेर्ने धारणा बन्छ ,यो मेरो पहिलो सर्त थियो,यसैले उमेर जवानी रहरहरु वैचारिक आस्था घोटेर पिउँदै मेटिएको प्यासको कयौ अनर्थ लगाएको मेरै कानले सुनेको छु।
यति हुँदा पनि म विचलित नभई यो आन्दोलनमा अनवरत लागि रहे मलाई प्रेरणा जगाउने साथी भाइ, नेता कमरेडहरुको सहयोग माया गर्ने जनताको पंक्तिको साथ अनि म यो आन्दोलमा लागे वापतको सामाजिक बहिष्कारको अनुभुत लाखौं मानिसको सपनाको प्रतिनिधित्वको खुबै सचेतता पुर्ण महसुस गर्थे।
* क. प्रचण्डको टिमको नेतृत्व
* पथपर्दसक सिद्धान्त मालेमाबाद
कम्युनिष्ट आधरभुत पाँच सिद्धान्तको कार्यान्वय प्रति आशावादी हुँदै सहिदको रगतले लत्पतिएको झण्डा जीवन कै प्राप्ति र उपलाधिको प्रतीक मान्दै हजार हन्डर ठक्कर पीडा पनि बिर्सिएर क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने सपना मेरो त्यो हुटहुटी खै के ? अनौठो बाध्यताले खोसियो? प्राण भन्दा पनि प्यारो पार्टी विघटन गराइयो, वैचारिक घर भत्काइयो , म गुड भत्किएको चरी जस्तै बने यो ३ हप्ता म बास विहिन जस्तै बने , कारण खोज्दै भौतारिए ,अन्तत आफैबाट चित्त बुझाउने एउटा जबाफ पाए, क. प्रचण्डको अगाडि विकल्प पनि थिएन पार्टी विघटन नगर्न अरूमा विलय नहुन, पार्टीलाई १ नम्बर पार्टी बनाएर जनताका मार्फत जनयुद्धको मुद्दा स्थापित गर्न नसके पछि विगठनको विकल्प थिएन, भूमिका र जिम्मेवारी प्रति कसैको ध्यान पुगेन कतिपय नेतृत्वले उठाएको हाम्रो स्तरबाट उठाएइएको विषयको सुनुवाई पनि भएन यसको भागेदार मेरो भागमा कति पर्दछ इतिहासको जुनसुकै दुनियाँबाट म चुकाउन तयार छु । तर पूँजीवादको दलदलमा फस्दै पार्टी भित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाउँदै चाप्लुसीबाद चाकडीबाद नेतृत्वलाई घेराबन्दी सहिद बेपत्ता परिवार घाइते अपाङ्गहरुको मनोबल उठाउनको साटो मनोबल कमजोर बनाउने पुरानो सामाजिक सत्ताले खडा गरेको खराब मूल्य मान्यताको बिरुद्धमा धावा बोल्न आँट ऊर्जा ह्रास यो स्थिति विगत लामो समय देखि देख्दै झेल्दै आइएकै हो,यो थुप्रै समस्याको हल गर्न समय घड्की सकेको थियो। क संयोजक आज म यत्ति चाहिँ भन्न सक्छु। म गलत या सही छु त्यो आउने दिनहरुले बताउने नै छ, विघटन पछि बनेको नयाँ पार्टी कुनै पनि मूल्य र मान्यताबाट हेर्दा कम्युनिष्ट क्रान्तिकारी पाटी होइन र रहेन। त्यसैले मैले त्यो यथास्थितिको बिरुद्ध विद्रोह गर्ने आँट गरे। यो मेरो निर्णय आफै प्रतिको निर्मम निर्णय पनि हो,पार्टीको साख जोगाउन नसकेका प्रतिको प्रायश्चित पनि हो।
संयोजक कमरेड
* समाज बुझ्थे तर सामाजिक उत्तरदायित्व बुझेको तपाईंको कारण हो।
* राजनीति त बुझ्थे तर विद्रोह बुझेको तपाईंकै कारण हो।
* क्रान्ति बुझ्थे तर क्रान्तिकारी बनेको तपाईंकै कारण हो।
* परिवर्तन बुझ्थे तर परिवर्तनको हिस्सेदारी तपाईंकै कारण हो।
त्यसैले म तपाईंलाई राजनीतिक कर्म दिने कर्म पिता मान्दथे यो गम्भीर मोडमा राजनीति कर्म दिने कर्म पिता रोज्ने कि? यथास्थितिको बिरुद्धमा उभिने ?मैले आँट गरे यथास्थितिको निरन्तरताको बिरुद्धमा उभिने र विद्रोह गर्ने मैले यो निर्णय गर्दै गर्दा हजार पटक सहिद बेपत्ता घाइते योद्धालाई सम्झे ,अझै भन्नु पर्दा मेरो जीवन साथी सहिद क. नीराजनलाई सम्झे उहाँले भन्नु भएको अन्तिम भनाई सम्झे ( मैले भनेको थिएँ मेरो माया लाग्छ भने तिमी अहिले जाँदै गरेको ठाउँ जोखिम ठाउँ हो त्यहाँ नजाऊ) उनको जबाफ थियो तिम्रो माया भन्दा ठूलो एउटा क्रान्तिकारी सिपाहीले निभाउनु पर्ने भूमिका प्रमुख हो। त्यसैले यो बेला तिम्रो माया भन्दा ठूलो मेरो त्यो कर्तव्य हुने छ। यो भनाई पनि याद गरे, तर पनि म हजार पटक सोच्दै सयौ पटक छातीमा मुड्की बजार्दै अलग हुने र ईतिहासको बाँकी जिम्मा उठाउने प्रण गरे।
संयोजक कमरेड
सुन्दै छु एसीड पिडित मुस्कान खातुन जस्ता व्यक्तिहरु पनि पार्टीमा जोडिँदै छ्न। म कामना मात्र गर्न सक्छु त्यहाँ भएका म जस्ता कयौं राजनीतिक पीडित मुस्कान खातुनहरुलाई न्याय होस् । अनि मात्र पिडित मुस्कान खातुनहरुले न्याय महसुस गर्ने छन्। अन्त्यमा संयोजक कमरेड तपाईं देश दौडाहा अभियानमा हुनु हुन्छ जस्तो लाग्दछ। यो व्यस्ततामा मेरो यो सन्देस पढ्न भ्याउनु हुन्छ या हुन्न तपाईंको विषय हो। म त्यहाँ रहुञ्जेल पार्टी राजनीति जीवन प्रति आँच आउने कुनै गलत काम गरिन। पार्टीले दिएको सत्ता सदनमा रहँदाको भूमिका होस् या पार्टी जिम्मेवारीमा रहँदाको भूमिका जिम्मेवार पुर्ण भएर निभाएको मेरो दाबी छ रहन्छ । भष्टाचार गरिन भ्रष्टाचारको बिरुद्ध मेरो बुताले भ्याएसम्म लडी नै रहे, सांंस्कृतिक , सामाजिक विचलन प्रति सधैं सचेत रहे ,मुख्य नेतृत्व मूल विचारको पक्षमा वकालत गरी नै रहे ,पार्टी भित्र मौलाउँदै गरेको खराब प्रवृत्ति बेथितिको विरुद्ध आबाज उठाई नै रहे, म त्यो अमूल्य इतिहासको साक्षी किनारा हुनुको हैसियतले ,इतिहासको खुलेर सम्मान गर्दै मैले मेरा धेरै विषयहरू मौखिक बोधार्थ स्वरुप बागमती प्रदेश अध्यक्ष क सरल सहयात्री समक्ष राखेको छु। समय मिल्दा मेरा ती भनाईहरु तपाईं समक्ष राखी दिनु हुने नै छ, क. सरल सहयात्री लगायत निर्णय बदल्न संवाद गर्नु हुने नेता कमरेडहरु सबै प्रिय मनहरु प्रति आभारी छु । तर माथि ऊलेखित विषय बाहेक म तपाईंहरूसंग सहमत हुन सकिन। यो समय मैले बिर्सनै नसक्ने मेरो राजनीति यात्रामा प्रत्यक्ष साथ समर्थन माया दिनु हुने मैले राजनीति क ख रा बाट सुरु गरेको रामेछाप जिल्लाका राजनीति ऐकेबद्वता दिनु हुने सबै कमरेडहरुमा नमन तपाईंहरू सँगको सहकार्य र तिता मीठा पलहरु मेरो जीवनको पूंजी हुने छ । राजनीतिक जीवन बाहेक पनि अर्को सुन्दर सामजिक जीवन छ। त्यहाँ हाम्रो भेट र सहकार्य अवस्य हुने छ।
संयोजक कमरेड
पुनः इतिहास प्रति एक पटक फर्केर हेर्ने आट गर्दै त्यही इतिहासको जगमा अर्को सुन्दर नेपालको परिकल्पना गर्दै तपाईं को नेतृत्वमा बिताएको बाँकी यो उमेर र ऊर्जा उही उद्देश्य तर फरक यात्राबाट तय गर्ने कोसिस गर्दै यो पत्र तपाईंको चिन्तक र आलोचकको नाताबाट लेक्दै छु। यो एउटा योद्धाको सत्य कथन हो। आज बाट त्यो पार्टीको कुनै पनि जिम्मेवारीमा र सदस्यता न रहेन जानकारी सहित तपाई समक्ष पार्टीको विधान व्यवस्था अनुसार कानुनी हिसाबले अलग रहने निर्णय लिएको छु।
महान सहिदहरु सलाम
धन्यवाद।
सहिद परिवार लक्ष्मी देवी गुरुङ
रामेछाप
प्रतिकिर्या