आइतबार भक्तपुरमा मृत फेला परेकी रोशनी शाही तिनै व्यक्ति थिइन् । महरा प्रकरणदेखि नै रहस्यमयी पात्रका रुपमा चर्चामा आएकी उनको मृत्यु पनि यतिबेलासम्म रहस्यमै छ ।तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन् ।
भक्तपुरको सूर्यविनायक– २ वृहस्पतिमार्गस्थित लक्ष्मीश्वरी महतोको घरमा ३० महिनादेखि डेरा गरी उनी बसेकी थिइन् । शनिबार दिनभर उनको चालचुल थियो । तर, आइतबार विहानैदेखि न उनी देखा परिन्, न त बन्द कोठा नै खुल्यो । दिउँसो १२–१ बजेसम्म पनि कुनै चालचुल नभएपछि घरमा बस्नेहरूले झ्यालबाट चिहाएर हेर्दा उनी भुइँमा लडेको देखे । अनि, प्रहरीलाई खबर गरे ।
पति चित्रजंग शाही एक गैरसरकारी संस्थाको जागिरका क्रममा विराटनगरमा थिए । सर्लाहीको हरिवनमा मुख्य कार्यालय रहेको बागमती सेवा समाजको विराटनगर शाखामा उनी कार्यरत थिए । दिउँसो १२ बजे प्रहरी घटनास्थलमा पुगेपछि रोशनीका पतिलाई प्रहरीले घटनाबारे अवगत गरायो । खबर पाएको एकघण्टाभित्रै उनी जहाज चढेर काठमाडौं ओर्लिए । विमानस्थलबाट सीधै घटनास्थल पुगे । त्यसपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रहरीले ढोका फोड्यो । रोशनीको प्राण थिएन ।
यस्तो दृश्य देखेपछि पतिले त्यति अचम्म मानेनन् । प्रहरीसँग भने, ‘पहिला पनि ओभरडोज ट्याबलेट लिएका घटना छन्, त्यस्तै भयो होला…।’
झ्याल, ढोकामा चुक्कुल लगाएर मृत फेला परेपछि कोही कसैप्रति शंका त भएन । उनले आत्महत्या नै गरेको निष्कर्षमा प्रहरी, पति र प्रत्यक्षदर्शी पुगे । तर, के सेवन गरेर ज्यान गुमाइन् ? अहिलेसम्म केही खुलेको छैन । प्रहरीलाई पतिले बताएअनुसार अत्यधिक औषधी सेवन गरी रोशनीले यसअघि पटक–पटक आत्महत्या प्रयास गरेकी थिइन् । यही आधारमा प्रहरीले अत्यधिक औषधी सेवनबाट मृत्यु भएको अनुमान गरेको हो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अरु कुरा त्यहाँको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरी बृत्त, थिमीका डीएसपी नवराज ढुंगानाको भनाइ छ ।
२ पृष्ठमा सुसाइड नोट
रोशनीले दुईवटा कागजमा छोराका नाममा सुसाइड नोट लेखेकी छन् । उनका एकमात्र छोरा अहिले अमेरिकामा छन् ।
‘तिमी कुरा बुझ्ने छौ बाबु, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन’, उनले लेखेकी छन्, ‘खुशी भएर बाँच्नु, म त यस्तै भएँ ।’
दुवै पानामा उनले छोराबाहेक अन्य प्रसंग केही लेखेकी छैनन् ।
मानसिक स्वास्थ्य खराब महरा प्रकरणताका नै उनको मानसिक स्वास्थ्यमा समस्या रहेको पति चित्रजंगले प्रहरीलाई बताएका छन् ।
‘महरा सर हाम्रो अभिभावकजस्तो मान्छे । उहाँमाथि जे–जे भयो, सब मानसिक स्वास्थ्यको गडबडीले भएको थियो’, प्रहरी र प्रत्यक्षदर्शी माझ उनी भन्दै थिए ।
उनको मानसिक स्वास्थ्यकै समस्याका कारण अनेकन पारिवारिक तथा सामाजिक समस्या झेल्नुपरेको पतिको भनाइको आशय थियो ।
प्रतिकिर्या