काठमाडौँ — झन्डै ५० वर्षअघि भक्तपुरको तौमडीस्थित भैरव मन्दिरबाट चोरिएको स्वर्ण तोरण स्विट्जरल्यान्डको ज्यूरिचस्थित कोलर लिलाम गृहमा पाइएको छ ।
यो सुनौलो तोरण सन् २०१९ डिसेम्बर ३ देखि लिलामीमा राखिएकोबारे हराएका/चोरिएका सम्पदाको अन्वेषण तथा घरफिर्तीको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले बताएको छ ।
सन् १९७० मा सार्वजनिक भएको ऐतिहासिक हन्टिङ्टन अर्काइभ(जोन सी.) संकलनमा यो तोरणको तस्बिर राखिएको छ । जुरिचको लिलाम गृहमा जानुअघि यो सम्पदा सन् १९८१ मा जर्मनीस्थित एक निजी संग्रहकर्ताकोमा रहेको जनाइएको छ ।यसैगरी, मुल्चोक, पाटनस्थित तलेजु भवानी मन्दिरमा रहिआएको दुर्गा मूर्ति पनि बेइजिङस्थित हनाइ अटम अक्सन(लिलामी)मा फेला परेको छ । यो मूर्ति सन् ८० दशकको सुरुवातमा हराएको थियो ।
‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार, २००७ डिसेम्बर १७ मै लिलामीमा राखिएको सम्पदाको तस्बिर तथा विवरण आर्कियोलोजिकल सर्भे अफ इन्डिया र हिमालयन आर्ट रिसोर्सेजको संकलनमा समेत छ ।
प्रतिकिर्या