मनोरञ्जन

हाम्राे मृत्यु पश्चात् के हुन्छ ?


erastriya आइतबार, साउन २८, २०८०

 

योगमा, हामी शरीरलाई पाँचवटा आवरण वा पत्रहरूमा हेर्दछौँ । भौतिक शरीरलाई अन्नमयकोष भनिन्छ । अन्न अर्थात् भोजन, त्यसैले यो भोजनबाट बनेको शरीर हो । दोस्रो पत्रलाई मनोमयकोष वा मानसिक शरीर भनिन्छ । तेस्रो पत्रलाई प्राणमयकोष भनिन्छ, जसको अर्थ हो ऊर्जा–शरीर । भौतिक, मानसिक र ऊर्जा शरीर जीवनको भौतिक आयामहरूसँग सम्बन्धित हुन्छन् । उदाहरणको लागि, तपाईँले यो प्रस्ट देख्न सक्नुहुन्छ कि बिजुली बल्ब भौतिक हो । विद्युत् अर्थात् तारहरूको माध्यमले बहने विद्युतकणहरू पनि भौतिक हुन् । साथै, त्यो बल्बबाट निस्किने प्रकाश पनि भौतिक हो । यी तीनवटै भौतिक हुन् । त्यसैगरी, भौतिक शरीर स्थूल हुन्छ, मानसिक शरीर केही सूक्ष्म हुन्छ, अनि ऊर्जा (प्राण) शरीर अझ बढी सूक्ष्म हुन्छ । तर, यी सबै भौतिक प्रकृतिका हुन्छन् । व्यक्तिको शरीर, मन र ऊर्जामा कर्मको छाप हुन्छ । कर्मको छाप वा कर्मको संरचनाले नै तपाईँलाई भौतिक शरीरमा अड्याइरहेको हुन्छ । भलै, कर्म बन्धन भए तापनि, कर्मको तत्त्वको कारणले नै तपाईँ शरीरमा रहिरहन सक्नुभएको छ, अनि जीवित हुनुहुन्छ ।

बाँकी दुईवटा आयामहरूलाई विज्ञानमयकोष र आनन्दमयकोष भनिन्छ । विज्ञानमयकोष अभौतिक हुन्छ, यद्यपि भौतिकसँग सम्बन्धित हुन्छ । विज्ञान वा विशेष-ज्ञान भनेको असाधारण ज्ञान हो, अर्थात् इन्द्रियहरूले बोध गर्ने भन्दा परको ज्ञान । यो आकाशीय शरीर हो । यो अनित्य (क्षणभङ्गुर) हुन्छ—भौतिकबाट अभौतिकतर्फ जाने अवस्था । यो न भौतिक हो, न त अभौतिक । यो दुवैबीच रहेको सँघार जस्तै हो । आनन्दमयकोष भनेको आनन्द–शरीर हो, जुन पूर्णतया अभौतिक हुन्छ । यसको आफ्नै स्वरूप हुँदैन । यदि भौतिक, मानसिक र ऊर्जा शरीर सही स्वरूपमा रहे भने मात्र आनन्दमय शरीरलाई थाम्न सकिन्छ । यदि यी रहेनन् भने, आनन्द-शरीर सम्पूर्ण ब्रह्माण्डको अंश बन्नेछ ।

जब कसैको मृत्यु हुन्छ, त्यसबेला हामी भन्ने गर्छौँ– ‘यो व्यक्ति अब रहेन ।’ तर, यो सत्य होइन । तपाईँले जुन रूपमा त्यस व्यक्तिलाई जान्नुभएको थियो, त्यस सन्दर्भमा मात्रै ऊ त्यहाँ नभएको हो, तर उसको अस्तित्व अझै पनि त्यहीँ रहेको हुन्छ । भौतिक शरीर यहीँ छोडिन्छ, तर मानसिक शरीर र प्राण–शरीरको अस्तित्व रहिरहन्छ, जुन व्यक्तिको कर्म कति बलियो छ भन्ने कुरामा निर्भर गर्दछ । अर्को गर्भ पाउनको लागि, व्यक्तिको कर्मको संरचनाको तीव्रता कम हुनुपर्छ, यो निष्क्रिय हुनुपर्छ । यदि आफ्नो चक्र पूरा गरेको कारण कर्मको संरचना एकदमै कमजोर भएको छ भने, यसले सजिलै अर्को शरीर पाउँछ । जब व्यक्तिले यो जीवनमा आफ्नो लागि निर्धारित कर्म पूरा गर्दछ, ऊ यत्तिकै मर्नेछ— कुनै रोग, दुर्घटना वा चोटपटक बिना नै । त्यस्तो व्यक्तिले केही घण्टामै अर्को शरीर पाउन सक्दछ ।

यदि व्यक्तिले आफ्नो जीवनको चक्र पूरा गरेको छ अनि शान्तिपूर्वक मृत्यु वहन गरेको छ भने, उसलाई यहाँ रहिरहनु पर्दैन, त्यो जीवन तुरुन्तै यहाँबाट जानेछ । यद्यपि, यदि कर्मको संरचना एकदमै जटिल छ अनि कर्म पूरा भएको छैन भने, त्यो सिद्धिनुपर्ने हुन्छ । यस्तो अवस्थामा, अर्को शरीर पाउनको लागि उसलाई निकै बढी समय आवश्यक हुन्छ । यसैलाई तपाईँहरूले भूत भनिरहनु भएको हो । यिनलाई तपाईँले सजिलै अनुभव गर्न सक्नुहुन्छ, किनकि उनीहरूको कर्मको संरचना बढी जटिल र प्रखर हुन्छ । चारैतिर यस्ता असङ्ख्य जीवहरू हुन्छन्— चाहे तपाईँलाई यसको बारेमा थाहा होस् वा नहोस्— तर, तपाईँले अधिकांशलाई महसुस गर्नुहुन्न किनकि उनीहरूको कर्म धेरै हदसम्म सिद्धिएको हुन्छ । अर्को शरीर नपाउन्जेल उनीहरू अझ बढी सिद्ध्याउन पर्खिरहेका हुन्छन् ।

जब तपाईँ आध्यात्मिक मार्गमा हिँड्नुहुन्छ, प्रत्येक आध्यात्मिक साधकको परम लक्ष्य भनेकै यो पुरै प्रक्रियालाई भङ्ग गर्नु हो । यो एउटा फोका जस्तै हो । यो फोकाको बाहिरी सतह भनेको तपाईँको कर्मको संरचना हो, भित्र हावा हुन्छ । मानिलिनु होस् कि तपाईँले फोका फुटाउनुभयो, खै त तपाईँको हावा ? तपाईँको हावा भन्ने त्यस्तो कुरा नै हुँदैन: यो सबैथोकको अंश बनेको हुन्छ । यतिखेर, यो जुन असीम छ, त्यो सीमित कर्म–संरचनामा बन्दी छ, जस कारण यसले तपाईँलाई आफू पृथक् (छुट्टै) अस्तित्व हो भन्ने कुरामा विश्वस्त गराउँछ । यदि तपाईँले कर्मको संरचनालाई शत-प्रतिशत छिन्नभिन्न पार्नुभयो भने, तपाईँ विलीन भएर अस्तित्वसँग एक बन्नुहुन्छ ।

यसैलाई महासमाधि भनिएको हो । तपाईँ बिस्तारै-बिस्तारै यसको साँचो कता छ भनेर बुझ्नुहुन्छ, अनि कर्मको संरचनालाई पूर्णतया भताभुङ्ग पार्नुहुन्छ, जसपश्चात् तपाईँ साँच्चिकै यहाँ रहनुहुन्न । हिन्दु संस्कृतिमा, यसलाई महासमाधि भनिन्छ । बौद्ध परम्परामा, यसलाई महापरिनिर्वाण भनिन्छ । साधारणता, यसलाई मुक्ति पनि भनिन्छ । मुक्ति अर्थात् शरीर र मनको मूलभूत संरचनाबाट नै स्वतन्त्र हुनु, जीवन-जन्म-मृत्युको मूल प्रक्रियाबाट नै मुक्त हुनु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत ०३, २०८१

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

माघ २७, २०८१

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

माघ १४, २०८१

‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

माघ ११, २०८१

ताजा अपडेट

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…

  • दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मानिएको रेडपाण्डा

    दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मान…

  • गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

    गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्…