राजनीति

माओवादीका तरमाराहरू, जो अवसर लिएर आफ्नो बाटो लागे


erastriya बिहीबार, साउन १८, २०८०

माओवादीले सशस्त्र विद्रोह छोडेर खुला राजनीतिमा आएको डेढ दशक पूरा भयाे । तर, संसदीय राजनीतिमा गति लिँदै गर्दा माओवादीले आफ्नो जनाधार बिर्सिंदै गयो । अवसरवाद जालाेमा फसेको माओवादीमा अधिकांश अनुहार अवसरको खोजीमा भित्रिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट भएर छोटो समयमा नै ठूलो अवसर पाउने धेरै भाग्यमानी छन् माओवादीमा । जसले छोटो समयमा नै ठूलो अवसर पाए तर तिनैले माओवादीलाई अप्ठेरो पर्दा भने साथ छाडेर बाटाे लागे ।

लक्की शेर्पा

2073 साल वैशाखमा माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत सिफारिस भइन् लक्की शेर्पा । माओवादीमा शेर्पाजत्तिको अरु महिला नभएर होइन । धेरै महिला थिए शेर्पाको जति क्षमता भएका तर प्रचण्डले उनलाई नै राजदूत बनाए ।

उनी पहिलो संविधानसभापछि रामचन्द्र झासँगै एमाले छाडेर माओवादीमा प्रवेश गरिन् । उनलाई प्रचण्डले सामानुपातिक सूचीमा राखे तर दोस्रो संविधानसभामा माओवादीको सिट कम आयो । लक्की अनलक्की भइन् । सभासद् बन्न पाइनन् ।

लक्कीको लकले साथ नदिए पनि प्रचण्डको प्रतापले उनको लक्की भाग्य चम्कियो अस्ट्रेलियाको राजदूत भएर ।

लक्कीलाई राजदूत बनाउँदा माओवादीका पुराना नेता/कार्यकर्ताहरूले असन्तुष्टि जनाए । लक्ष्मी पुनले उनलाई राजदूत बनाएपछि सार्वजनिक रूपमा नै असन्तुष्टि पोखिन् । तर, माओवादी सुप्रिमोको अगाडि कसैको केही लागेन । लक्कीको लकले साथ दियो, राजदूत भएर अस्ट्रेलिया हुइँकिइन् ।

राजदूत लक्कीका लागि त्यही अस्ट्रेलिया नै दुर्भाग्य भएर आयो । शेर्पाका पूर्वसवारीचालक एवं भान्छे वाङ्छु शेर्पाले उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानवबेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाए ।

आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरूलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै आफूलाई रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारीचालकले लगाएपछि उनलाई रादूतबाट फिर्ता बोलाइएको थियो ।

शेर्पा माओवादी पस्नुभन्दा पहिला एमालेको संगठित सदस्य थिइनन् । ०६४ सालमा एमालेबाट समानुपातिक सभासद् बनेकी थिइन् । एमालेमा सभासद् खाएर माओवादी पसेकी लक्की राजदूतको पद पाएर पुन: ९ वैशाख ०७८ मा एमालेमै फर्किइन् ।

जुन विचार माओवादीको थियो, त्यो विचार, सिद्धान्त छोडेकाले आफूले त्यो पार्टी छोडेको शेर्पाले बताइन् । उनले भनिन्, ‘माओवादीले माया गरिराखेको थियो । तर, वर्गीय हिसाबले माओवादीमा समस्या आयो । हिजो जुन वर्ग लडेको थियो, त्यही वर्गलाई छोड्दै गयो । नेतृत्वमा बाहिर एक कुरा भन्ने, भित्री अर्कै काम गर्ने प्रवृत्ति देखियो । यस्तो भइसकेपछि त्यो पार्टीमा राजनीतिक भविष्य देखिनँ, अनि छोडेकी हुँ ।’

अवसर पाएर पनि माओवादी छोड्ने शेर्पा एक जना मात्र होइनन्, यो लिस्ट लामै छ ।

योगेन्द्र ढकाल (अजय शर्मा)

योगेन्द्र ढकाल (अजय शर्मा) जनादेशको सहप्रकाशन संश्लेषणको प्रधानसम्पादक भएर आए । उनी केही महिनाअघि मात्रै अमेरिकाबाट नेपाल ‘ल्यान्ड’ भएका रहेछन् । ०६३ सालमा जनादेशको सहप्रकाशन थियो संश्लेषण । त्यसको प्रधान सम्पादक भएर माओवादी छिरेका थिए ढकाल । गोरा, चिल्ला, अन्तरमुखी स्वभावका शर्मा जनयुद्धबाट आएकासँग कमै घुलमिल हुन रुचाउँथे त्यो समयमा । उनी भरखर अमेरिका बसेर नेपाल फर्केका थिए । उनको वास्तविक नाम योगेन्द्र ढकाल भए पनि राजनीतिक रूपमा अजय शर्माका नामले परिचित छन् । शर्मा प्रधान सम्पादक भएर आएपछि युद्धका समयका पत्रकार खिलबहादुर भण्डारी र बलराम थापा सम्पादक मण्डलमा झरे ।

तिनै अजय शर्मा ०६४ भदौ ८ गते अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भए । उनी नाताले मसालका महामन्त्री मोहनविक्रम सिंहका बहिनीज्वाइँ हुन् ।

अमेरिकाबाट नेपाल आएको, जनयुद्धमा कुनै योगदान नभएको मान्छे एक वर्षभित्रै राजदूतमा सिफारिस भएपछि माओवादीमा हलचल नै भएको थियो । राजदूत गरिमामय, रणनीतिक महत्त्व र आर्थिक लाभको पद मानिन्छ ।

शर्मा माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा लागे । त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् । केही वर्ष पछि पुनः मसालमा फर्किएर बुद्धिजीवी संगठनका महासचिव भए ।

यिनै पार्टी फेर्दै अवसर लिँदै हिँड्ने योगेन्द्र ढकाल २८ माघ ०७८ मा श्रीमती अजिता जिसीसँगै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी अहिले माओवादी र प्रचण्डका घोर विरोधी भएका छन् । जुन माओवादीमा केही समय लागेर प्रधान सम्पादक र राजदूत भए, अहिले त्यही पार्टीको विरोध गर्नु उनको दिनचर्या भएको छ ।

विजयकान्त कर्ण

विजयकान्त कर्ण डेनमार्कका लागि राजदूत भएका थिए । उनी पनि माओवादी कोटामा राजदूत भएका हुन् । उनको पनि माओवादी विद्रोहमा कुनै सम्बन्ध छैन ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डको कोटाबाट कर्णलाई राजदूत बनाए । डेनमार्कमा लामो समय राजदूत भएर फर्केका कर्ण माओवादीभन्दा बढ्ता मधेसकेन्द्रित दलको निकटतामा पुगेको बताइन्छ ।

०४३ सालदेखिको सक्रिय राजनीति छोडेको र आफू माओवादीलाई समर्थन गर्ने गरी राजदूत नभएको कर्ण बताउँछन् । उनले भने, ‘माओवादीको सिफारिसमा राजदूत तत्कालीन गिरजाप्रसाद कोइरालाले नियुक्त गर्नुभएको हो । तर, म माओवादीको सदस्य कहिल्यै भइनँ । हुन पनि हुँदिनँ । आलोचना र समर्थन कामका आधारमा गर्छु । माओवादीको नीति नै थियो कि नागरिक अगुवाहरूलाई सांसद बनाउने, राजदूत बनाउने, त्यही नीतिअन्तर्गत म पनि राजदूत भएको हुँ । माओवादीले राम्रो काम गरे समर्थन गर्छु, नराम्रो गरे आलोचना ।’

डेनमार्कका लागि राजदूतको कार्यकाल सकेर फर्केका कर्ण आजभोलि माओवादीमाथि प्रहार गर्नेहरूको अग्रपंक्तिमा पर्छन् । खासगरी ०६३ पछि अन्तरिम व्यवस्थापिका बनाउने क्रममा मानिसहरू आकर्षित गर्ने नाममा माओवादीले सांसदलगायतका राजनीतिक पदमा बाहिरकै मानिसलाई नियुक्त गर्न थाल्यो । जसको फाइदा कर्णले पनि लिए ।

महेश मास्के

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चीनका लागि महेशकुमार मास्के राजदूत नियुक्त भएका थिए । उनी माओवादीको कोटामा राजदूत नियुक्त भएर चीनमा ४ वर्ष कार्यकाल सकेर नेपाल फर्केका हुन् ।

उनको पृष्ठभूमि कम्युनिस्ट हो । त्यही भएर पनि माओवादीले उनलाई राजदूत बनाएको हो । उसो त उनको राजनीतिक संलग्नता एकता केन्द्रसँग थियो । नारायणकाजी श्रेष्ठनिकट मानिने मास्केलाई राजदूत बनाउँदा धेरै विवाद त भएन । तर, उनी कार्यकाल सकेर फर्केपछि माओवादीको पक्षमा बोलेको सुनिँदैन । उनी लेख्ने पढ्नेमा पर्छन् । तर, सार्वजनिक मञ्चहरूमा कहीँ कतै देखिँदैनन् । माओवादी विद्रोहमा योगदान नदिए पनि उनले माओवादी सरकारमा आएपछि अवसर पाएका थिए ।

श्याम श्रेष्ठ

श्याम श्रेष्ठ दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको तर्फबाट मनोनीत सभासद् बनेका हुन् । उनी पनि एकता केन्द्र र माओवादी एकता भएपछि नारायणकाजी श्रेष्ठनिकट मानिन्थे । पार्टी एकता भएको केही वर्षपछि भएको संविधानसभाको दोस्रो कार्यकालमा उनलाई माओवादी कोटामा सभासद् चयन गरेको थियो । 

श्रेष्ठ विज्ञको रूपमा सांसद भएर अवसर लिनेमा पर्छन् । उनको कम्युनिस्ट आन्दोलनमा भूमिका भए पनि माओवादी विद्रोहमा भने खासै थिएन । माओवादी कोटामा उनलाई सभासद् हुने अवसर दिइयो । त्यो समयमा राजनीतिक दलहरूले बाँड्न नहुने कोटा बाँडेको र त्यही बाँडिएको कोटामा आफू पनि माओवादीको भागमा परेको कोटामा सभासद् भएको श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘मलाई माओवादीले सभासद् हुने प्रस्ताव राख्दा नै मैले ह्वीप नमान्ने, संसदीय दलको कार्यालयमा नआउने र लेबी पनि नतिर्ने सर्त राखेर सभासद् भएको हुँ । मैले माओवादीले गल्ती गर्दा उनका विरुद्ध संसद्‌मा बोलेको थिएँ । म हिजो पनि स्वतन्त्र नागरिकको हिसाबले सांसद भएको हुँ । आज पनि स्वतन्त्र नागरिक छु ।’

अहिले उनी आफूलाई वामपन्थी विश्लेषक भन्न रुचाउँछन् । उनी पनि माओवादीको आलोचकको रूपमा बढी देखिन्छन् । उनकी बहिनी शशि श्रेष्ठ अहिले माओवादीकी नेता हुन् । उनी भूमि व्यवस्था तथा शहकारीमन्त्री छन् । उनका बहिनीज्वाइँ लीलामणि पोखरेल माओवादीका सचिव हुन् ।

रवीन्द्रप्रताप शाह

रवीन्द्रप्रताप शाहको स्थायी घर धादिङ हो । पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई माओवादीले सभासद् बनाएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि उनलाई पनि समानुपातिक कोटामा सभासद् बनाएको थियो माओवादीले ।

त्यो समयमा पार्टी अध्यक्ष प्रचण्डसँगै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहमतिमा पूर्वआईजीपी शाह एमाओवादीको समानुपातिक सभासद् बनाइएका थिए ।

‘जनयुद्ध दमन गर्ने’मध्येका एक भन्दै शाहलाई सभासद् बनाएकोमा पार्टीका नेता कार्यकर्ताबाटै चर्को विरोध भएको थियो । समानुपातिक सूचीमा नै नाम भएका हेमन्तप्रकाश वली नपरेपछि झन् चर्को विरोध भएको थियो । वली अहिले विप्लवबाट पार्टी विभाजन गरेर बहुमत नेकपाको नेता बनेका छन् । वली शहीद परिवार, जनयुद्धमा जेल परेका र त्याग गरेका क्षमतासमेत भएकालाई सभासद् नबनाउँदा चर्को विरोध भएको थियो ।  

उनले आफू माओवादी कोटामा सभासद् भएको तर अहिले मिडियामा केही पनि नबोल्ने बताए ।

पूर्वआईजी शाहले समेत आफ्नो इच्छाले नभई माओवादी नेताहरूले कन्भिन्स गरेर आफूलाई सभासद् बनाएको अभिव्यक्ति दिएका थिए । माओवादीमा नै शाहको विरोध भएपछि सभासद् पद छोड्ने बताएका थिए । तर, उनले पूरा कार्यकाल सभासद् भए । अहिले उनी सामाजिक सञ्जालमा माओवादीविरुद्ध स्टाटस लेख्दै बस्छन् ।

शाह पनि माओवादी विद्रोहलाई दमन गरेर सबैभन्दा ठूलो अवसर हात पार्नेमा पर्छन् । उनले माओवादी विद्रोह दबाउन जति भूमिका खेले, त्योभन्दा बढी अवसर पनि माओवादीबाट नै पाएका हुन् । तर, अहिले उनी माओवादीमा संगठित हुन त परैको कुरा, समर्थक पनि छैनन् ।

इन्द्रजित राई

माओवादीबाट अवसर पाउनेमा इन्द्रजित राई पनि पर्छन् । ०६४ सालभन्दा पहिला विभिन्न विश्वविद्यालयमा अध्यापन गराउँदै आएका राईलाई माओवादीले ०६४ सालमा समानुपातिक सभासद् बनायो । पहिलो संविधानसभामा नै उनी सभासद् हुने भाग्यमानी हुन् । उनी सभासद् हुनुभन्दा पहिला काठमाडौं विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयमा प्रोफेसर थिए । 

माओवादीले सभासद् बनाएपछि उनी यही पार्टीमा थिए । नेकपाकालमा रामबहादुर थापा गृहमन्त्री भए पनि उनका सुरक्षा सल्लाहकार भए । 

‘मलाई माओवादी मन परेर माओवादी भएको होइन । रामबहादुर थापा मन परेर माओवादी भएको हुँ । अहिले थापा एमालेमा हुनुहुन्छ । त्यसैले म पनि एमालेमा गएको हुँ,’ राईले प्रस्टीकरण दिए ।

गृहमन्त्रीका सल्लाहकार हुँदा नै युवालाई शरणार्थी परिचयपत्र दिलाएर अमेरिका पठाउने धन्दामा राई र उनका छोरा नीरज राई पनि संलग्न भएको आरोप लाग्यो । अमेरिका जाने प्रलोभनमा गिरोहमार्फत राई र उनका छोरा नीरजले ५५ जनाबाट एकमुस्ट ५ करोड ५० लाख रुपैयाँ बुझेको आरोप लाग्यो ।

थापा एमालेमा नै बसेपछि राई पनि एमालेमा नै बसेका छन् । मलाई माओवादीले सांसद बनायो, बाबुराम भट्टराईलाई प्रधानमन्त्री नै बनाउँदा पनि किन बसेनन् ? मानिसको राजनीतिक दल छान्न पाउने अधिकार हुने राई बताउँछन् । राई पनि विद्रोहमा सहयोग नगरे नै सभासद् र सल्लाहकार हुन पाउने भाग्यमानीमा नै पर्छन् । 

कुमार फुदुङ

माओवादी शान्तिप्रक्रियामा आएपछि पहिलोपटक ८० जना अन्तरिम विधायक मनोनीत गरेको थियो । त्यसमा पूर्वजर्नेल कुमार फुदुङ पनि थिए । सेनाबाट भरखरै रिटायर्ड भएको जर्नेल नै माओवादीको अन्तरिम विधायकमा मनोनीत हुने सबैका लागि आश्चर्यको कुरा थियो । 

माओवादीको विद्रोह रोकिएको छोटो समयमा नै उनी माओवादीनिकट भएको बताइन्छ । उनी सेनाको मेजर जनरलबाट अवकाश भएका हुन् । 

२०६४ सालमा कुमार फदुङ माओवादी पार्टीबाट संविधानसभाको चुनाव पनि लडे तर हारे  । अहिले यी पात्र पनि गुमनामजस्तै छन् । जेहोस्, उनी पनि माओवादी शान्ति प्रक्रियामा आएपछि तर मार्नेमा नै पर्छन् । तर, अहिले माओवादीको पक्षमा बोलेको कहीँ कतै सुन्न पाइँदैन ।

माया शर्मा

माया शर्माले ०६८ मा माओवादी कोटाबाट राजदूत हुन सौभाग्य पाइन् । उनको पनि माओवादी विद्रोहमा कुनै साइनो थिएन । तर, बाबुराम भट्टराईले उनलाई राजदूत बनाए । विवादित अभिव्यक्तिका कारण उनले कतारमा पूर्ण कार्यकाल काम गर्न पाइनन् । 

कृषि विकास बैंककी कर्मचारी शर्मालाई माओवादीले कुन विज्ञताका आधारमा राजदूत बनाएको भनेर अहिलेसम्म थाहा छैन ।

शर्मा राजदूत पदमा नै भएको समयमा ‘कतार खुला जेल हो’ भनेर बोलेपछि विवादमा तानिइन् । माओवादीका नेताहरूले शर्मालाई फिर्ता बोलाउन नेतृत्वलाई दबाब दिन थाले । 

माओवादीका अध्यक्ष प्रचण्डले राजदूत शर्मालाई फिर्ता आउन आग्रह गरेका थिए । शर्माले आफू माओवादी कार्यकर्ता नभएकाले प्रचण्डको ठाडो आदेशमा नफर्कने भन्दै त्यहीँ बसिन् । 

विवादित अभिव्यक्तिपछि १० असोज ०७० सालमा सरकारले उनलाई फिर्ता बोलायो ।

नेपाल र कतारको सम्बन्धमै खलल पार्ने गरी राजदूत शर्माको अभिव्यक्ति आएपछि कतारी सरकारले नै फिर्ता बोलाउन नेपालमाथि दबाब बढाएको थियो । त्यसपछि सरकार शर्मालाई फिर्ता बोलाउन बाध्य भएको थियो । ०७० मा नेपाल फर्केपछि शर्मा कहाँ के गर्दैछिन् भन्ने माओवादीलाई नै अत्तोपत्तो छैन ।

सुबसेन वली

सुबसेन वली पनि माओवादीमा पहिलो संविधानसभामा सभासद् हुन पाउने भाग्यमानी पञ्च हुन् । उनी महेन्द्रको पालाका अञ्चलाधीश थिए । जीवनभरि पञ्चायतको पक्षमा लागेका वलीलाई माओवादीले भने सजिलै सांसद बनाएको थियो ।

राजसंस्था ढाल्न सशस्त्र विद्रोह गरेका माओवादीले नै कट्टर पञ्चलाई सभासद्‌को पद उपहार दिएका थिए । तर, सभासद् भएपछि वली कहीँ कतै राजनीतिक मञ्चमा देखिँदैनन् । न त माओवादीको पक्षमा कहीँ कतै बोलेकै सुनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न
अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

असोज ०२, २०८१

अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता
अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

भदौ ३१, २०८१

ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!
ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

भदौ १७, २०८१

गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी
गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

भदौ १४, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति