२०७२ सालमा सुनपसल सञ्चालन गरेका दीपकले छोटो समयमा आर्थिक प्रगति गरे । कारोबार बढेपछि उनले लालबहादुरलाई कामदार राखेका थिए । दीपकले सिंहदेवी मनिट्रान्सफर र सिंहदेवी इन्डष्ट्रिज प्रालि सञ्चालन गरेका थिए ।
आर्थिक कारोबारलाई सजिलो बनाउन पासबुक पनि बनाए । आर्थिक कारोबारका लागि अनुमति पनि लिएनन् । उनले कारोबार गर्दा सर्वसाधारणलाई १८ प्रतिशत ब्याजको लोभ देखाएका थिए । १८ प्रतिशत ब्याज दिने भन्दै सर्वसाधारणबाट पैसा उठाएर जग्गामा लगानी गरे । तर उनको कारोबार बिँग्रदै गयो ।
२०७५ जेठ २० गते ५२ लाख ६६ हजार ठगी गरेको भन्दै सुकमति गुरुङसहित ९ जनाले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिए । गजमेरले पासबुक नै दिएर पसलमा रकमको कारोबार गर्दै आएको थाहा पाएपछि प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढायो । अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालयमा २७५ जनाले १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ ठगिएको भन्दै जाहेरी दिए ।
सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा सञ्चालक गजमेरसँगै उनका बुबा कृष्णबहादुर, भाइ कमल र दिदी सीता विश्वकर्मासँगै पसलका कामदार गोपाल भनिने लालबहादुर विश्वकर्मालाई पनि प्रतिवादी बनाएर ठगी मुद्दा चलायो ।
सो मुद्दामा २०७८ पुस १ गते जिल्ला न्यायाधीश निर्माला योङ्याको इजलासले फरार रहेका कमलको मुद्दा मुलतवीमा राखेर चार जनालाई दोषी ठहर गर्दै कैद,जरिवाना र विगो भराउने फैसला गरेको थियो ।
अदालतले दीपकलाई तीन वर्ष कैद र ७० हजार जरिवानाको फैसला गरेको थियो । उनका बुबा कृष्णबहादुर, कृष्णबहादुरकी छोरी सीता र कामदार गोपाललाई जनही एक वर्ष ६ महिना कैद सजाय र ७० हजार जरिवानाको फैसला गरेको थियो ।
कृष्णबहादुरका छोरा कमल भने फरार छन् । अदालतले दीपकसहित उनका बुबा, दिदी र कामदार लालबहादुरबाट दामासाही हिसाबले १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ विगो भराउन फैसला गरेको थियो ।
दीपकको सुनचाँदी पसलमा उनी नभएका बेला बुबा कृष्णबहादुर बस्थे । छोराको अनुपस्थितिमा उनले नै व्यापार सञ्चालन गरेका थिए । उनी लेख्न नजान्ने भएका कारण पसलले व्यक्तिको रकम जम्मा गर्न बनाएको पासबुकमा लालबहादुरलाई हस्ताक्षर गर्न लगाउथे ।
जिल्ला अदालत समक्ष गरेको बयानमा लालबहादुरले कृष्णबहादुरले लेख्न नजान्दा दुई जनाको पासबुकमा आफूलाई हस्ताक्षर गर्न लगाएको बयान दिएका थिए । उनले कृष्णबहादुरको आग्रह पछि सिंहदेवी ज्वेलर्सले इण्डष्ट्रिजले कन्चन चौधरी र अम्बिका अन्जना राईले नाममा जारी गरेको पासबुकमा एक पटक बचत गर्दा हस्ताक्षर गरेका थिए ।
प्रहरी अनुसन्धान प्रतिवेदन र अदालतमा बकपत्र गर्दा पनि लालबहादुरले आफू कामदार मात्रै भएको बयान दिएका थिए ।
कृष्णबहादुर र दीपकले पनि लालबहादुरलाई कामदार भएको बयान दिएका थिए । अदालतमा बकपत्र गरेका केही पीडितहरुले पनि उनी कामदार भएको बयान दिएका थिए । तर पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो ।
‘प्रहरीले त अधिकतम सजाय दाबी गरेर अभियोग लैजान्छ, तर न्यायमूर्तिले विवेक पु¥याउनु पर्ने हो, त्यसो देखिएन,’ सुनसरीका कानुन व्यावसायीले भने, ‘जिल्लाको फैसलाले लालबहादुरलाई ठूलो अन्याय भएको थियो, उच्च अदालतले न्याय दिएको छ ।’
प्रतिकिर्या