समाचार

म्याग्दीको मुनामा विश्वकै सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो


erastriya सोमबार, मंसिर २४, २०८१

म्याग्दी, २४ मङ्सिरः धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् । 

धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको थियो । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गर्नुभयो । “भिडियो र तस्वीरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौं ।”

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुुसार यसअघि रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन । 

“आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन”, उहाँले भन्नुभयो, “संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि भएर देखिन थालेका हुन् ।”

रेडपाण्डाका बासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वबारेमा जानकारी गराइएको थियो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वबारेमा जानकारी पाएपछि समुदाय स्तरमा पनि संरक्षणमा चासो बढेको छ ।  

गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धाौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो ।  

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र सङ्घ संस्थासँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुुभयो । “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,” उहाँले भन्नुभयो, “रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ ।” रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । 

पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने
संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

२३ घण्टा अघि

बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज

२३ घण्टा अघि

‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’
‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

१ दिन अघि

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान
बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

१ दिन अघि

ताजा अपडेट

  • मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ

    मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ

  • ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

    ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

  • संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

    संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

  • बागमती प्रदेशसभाको बैठक आज

    बागमती प्रदेशसभाको बैठक आज

  • पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त

    पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त

  • ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

    ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

  • बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

    बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

  • ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा

    ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा