समाचार

दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा


erastriya आइतबार, मंसिर २३, २०८१

त्रिशूली (नुवाकोट), २३ मङ्सिरः धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो । यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ ।

दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ । मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताउनुभयो ।

दुप्चेश्वर महादेवको महिमा पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताउनुभयो । गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उहाँको भनाइ छ । यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो । उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् । धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन् । दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ । महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ ।

काठमाडौँको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ । नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ । मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ । रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ ।

मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…